PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

विराटनगर जुट मिल्समा सरकारको ३४ प्रतिशत शेयर घोटाला, जालसाजीमा फस्यो सरकार 



अनन्तराज न्यौपाने

विराटनगर जुट मिल्समा सरकारको ३४ प्रतिशत शेयर घोटाला, जालसाजीमा फस्यो सरकार 

विराटनगर : नेपालकै सबैभन्दा पहिलो उद्योग विराटनगर जुट मिल्समा शेयर घोटाला काण्ड मच्चाउँदै नेपाल सरकारको शेयरलाई अल्पमतमा र निजी क्षेत्रलाई दुई तिहाईभन्दा बढी पारिएको छ। 
 
सरकारको ६८ प्रतिशत स्वामित्व भएको मिल्सका प्रबन्ध सञ्चालक निलहरि काफ्लेको सक्रियतामा भएको शेयर घोटालाबाट सरकार अब ३३ दशमलव ८३ प्रतिशतको मात्र साझेदार भएको छ। सञ्चालक निलहरि सहितको निजी क्षेत्रसित अब ६६ दशमलव १७ प्रतिशत स्वामित्व हात परेको छ।
 
आगामी मङ्सिर महिनादेखि सञ्चालन गर्ने भनेर प्रचार गरिएको मिल्सको सञ्चालन खर्च निकाल्न विराटनगर महानगरपालिकाभित्र मिल्सको स्वामित्वमा रहेको ६७ बिघा जमिन बिक्री गर्ने उद्देश्यले काफ्ले र उनको समूहले जालझेल गरेर सरकारको शेयरलाई अल्पमतमा पारेको हो।
 
‘मिल्स सञ्चालन गर्ने भन्दै मिल्सको जमिनको विक्री गरिरहनेछन्’, स्रोतले भन्यो, ‘नरहे बाँस नबजे बाँसुरी, अन्तमा न मिल्स फाइदामा जानेछ, न मिल्सको नाममा रहेको ६७ बिघाकै अस्तित्व रहनेछ। एउटा इतिहास सक्ने प्रपञ्च भइरहेको छ।’
 

यसरी थियो सरकारको ६८ प्रतिशत 

२०६६ सालमा मिल्स सञ्चालक समितिका अध्यक्ष अशोक पोखरेल थिए। उनकै पालामा मिल्सका सम्पूर्ण मजदुर र कर्मचारीलाई उनीहरूले पाउनु पर्ने रकम दिएर विदा गरियो। यसलाई ‘पे अफ’ भनिन्छ।
 
पेअफ गर्दा मजदुर र कर्मचारीलाई दिन मिल्सको कोषमा १ रुपैयाँ पनि थिएन। मिल्सले सरकार गुहार्यो। सरकारले ५५ करोड रुपैयाँ दिने भयो।
 
सरकारले ५५ करोड रुपैयाँ उपलब्ध गराउने वचनसँगै अर्को शर्त तेर्सायो। त्यो शर्त थियो– ‘हालसम्म अर्थात् २०६६ सालसम्म विराटनगर जुट मिल्समा सरकारको ४६ दशमलव ५ प्रतिशत शेयर छ। सरकारले मिल्सलाई पेअफ गर्न ५५ करोड रुपैयाँ उपलब्ध गराएपछि सरकारको शेयर ६८ प्रतिशत हुनेछ।’
 
आफ्नो ४६ दशमलव ५ प्रतिशतबाट ६८ प्रतिशत भएमा मात्र पेअफका लागि ५५ करोड रुपैयाँ उपलब्ध गराउने सरकारको शर्तलाई मिल्सको साधारण सभाले सहमति जनायो।
 
यसप्रकार २०६६ साल जेठ २७ मा मिल्सको विशेष साधारण सभा डाँकियो। साधारण सभाले मिल्सको १ करोड ५० लाखको अधिकृत पुँजी बढाएर २ करोड, जारी पुँजी १ करोड १० लाखबाट बढाएर १ करोड ८० लाख र चुक्ता पुँजी १ करोड ६ लाख ७० हजार २ सय ४० बाट १ करोड ७८ लाख ७० हजार पुर्याउने निर्णय गर्यो।
 
यसप्रकार प्रति कित्ता १ सय ६० रुपैयाँ बराबर कुल १ लाख ११ हजार ६ सय ८९ कित्ता शेयर जारी गरी सरकारलाई ४५ हजार कित्ता शेयर दिने निर्णय पनि ६६ जेठ २७ को विशेष साधारण सभाले गर्यो। यस हिसाबले सरकारको शेयर ६६ दशमलव ६६ प्रतिशत हुन्छ।
 
सम्बद्ध स्रोतका अनुसार मिल्सको विशेष साधारण सभाको उक्त निर्णय अर्थ मन्त्रालयको संस्थान महाशाखामा अझै सुरक्षित छ।
 

नयाँ वर्षसँगै नयाँ खेल सुरु

यसैबीच २०७४ सालसँगै मिल्सका तत्कालीन अध्यक्ष निलहरि काफ्लेका मनमा नयाँ सोच जन्मियो। त्यो सोच थियो– मिल्सको दुई तिहाई शेयर हत्याउने र त्यहाँको सम्पूर्ण जायजेथा र धनसम्पत्तिलाई आफ्ना कब्जामा पार्ने। यही सोचलाई साकार बनाउन २०७४ वैशाख ४ गते मिल्सको विशेष साधारण सभा बोलाइयो। 
 
साधारण सभाले प्रति कित्ता शेयर १ सय ६० रुपैयाँका दरले ४० लाख रुपैयाँ बराबरका २५ हजार कित्ता हकप्रद शेयर विक्रीका लागि निष्काशन गर्ने निर्णय गर्यो।
 
साथै २०७४ वैशाख २२ गतेदेखि २०७४ जेठ ५ गतेसम्ममा हकप्रद शेयर निष्काशनको सूचना सबै शेयर धनीलाई दिइने निर्णय पनि साधारण सभामा गरियो।
 
यही साधारण सभाले वसन्त वन र राजेन्द्र कार्कीलाई मिल्सको सञ्चालक समितिमा निर्वाचित गर्यो।

खेलको अर्को शृङ्खला

यसको भोलिपल्टै अर्थात् २०७४ वैशाख ५ गते मिल्स सञ्चालक समितिको बैठक बस्यो। 
 
सञ्चालक समितिमा ६ जनाले मिल्सको ५०र५० कित्ता शेयर खरिद गर्न पाऊँ भनी आवेदन दिएका थिए। आवदेक ६ जनामा उद्धवप्रसाद तिमिल्सिना, दिनेशकुमार थपलिया, निर्मल महरा, रेशम महरा, शिवहरि आचार्य र सुशीला पौडेल थिए।
 
मिल्सका निलहरि काफ्ले, बाबुराम खड्का र राजेन्द्र कार्की गरी ३ शेयर धनीले आआफ्नो नामको ५०/५० कित्ता शेयर उपरोक्त ६ आवेदकलाई विक्री गर्न राजी रहेको सूचना सञ्चालक समितिको बैठकमा गरे।
 
जसअनुसार ६ आवेदकले ५०/५० कित्ता शेयर खरिद गरे। 
 
यो शेयर खरिद गर्नुको उद्देश्य मिल्सको निष्काशन हुन लागेको हकप्रद शेयरमा कब्जा जमाउन नै थियो। तत्कालीन अध्यक्ष निलहरिको गेम प्लानअनुसार यसो गरिएको थियो।
 

ककसले किने मिल्सको हकप्रद शेयर?

मिल्सको २०७४ वैशाख ४ को हकप्रद शेयर निष्काशन सम्बन्धी निर्णयको सूचना वैशाख २१, २२ र २३ गतेको नेपाल समाचारपत्रमा प्रकाशित गरियो।
 
यस सूचनाका बारेमा जुट मिल्सको तालुकदार मन्त्रालय अर्थात् उद्योग मन्त्रालयमा सुइँको पनि दिइएन। 
 
सरकारलाई थाहै नदिई मिल्सको हकप्रद शेयर मुकुन्दप्रसाद नेपाल, अशोक पोखरेल, फूलकुमार लालबानी, निलहरि काफ्ले, बाबुराम खड्का, लोकमान्य गोल्छा, राजेन्द्र कार्की, दिनेशकुमार थपलिया, वसन्त वन र उद्धवप्रसाद तिमिल्सिनाले खरिद गरे।
 
स्रोतका अनुसार सबैभन्दा बढी हकप्रद शेयर खरिद गर्नेमा वसन्त वन छन्। उनले ९ हजार २ सय २ कित्ता खरिद गरेका छन्। त्यस्तै निलहरिले ८ हजार २० कित्ता, दिनेशकुमारले ७ सय ६४, उद्धवप्रसादले ७ सय ६४ र लोकमान्य गोल्छाले ३ सय ८२ कित्ता शेयर खरिद गरेका छन्।
 

सरकारका सचिव पनि फसे

नेपाल सरकारको कानुनअनुसार कुनै पनि निजामति कर्मचारीले शेयर मार्केटमा गएर सेकेन्डरी शेयर खरिद गर्न पाउँदैन। निजामति कर्मचारीले कुनै कम्पनीले निकालेको आइपिओमा आवेदन गरेर शेयर खरिद गर्न भने पाइन्छ। 
 
विराटनगर जुट मिल्सको हकप्रद शेयर खरिद गर्नेमा नेपाल सरकारका उच्च तहका दुई कर्मचारी पनि छन्। उनीहरू सहसचिव उद्धवप्रसाद तिमिल्सिना र सचिव दिनेशकुमार थपलिया हुन्। थपलिया स्थानीय विकास मन्त्रालयमा सचिव छन्।
 

यसरी पारियो सरकारलाई अल्पमतमा 

हकप्रद शेयरको सूचना निष्काशनसँगसँगै असार २४ गते मिल्सको विशेष साधारण सभा फेरि बोलाइयो। 
 
यही साधारण सभाले मिल्सको शेयर प्रति कित्ता १ सय ६० रुपैयाँका दरले ९१ हजार ६ सय ८९ कित्ता कायम गर्ने र यसमध्ये नेपाल सरकारका नाममा ३१ हजार २३ कित्ता कायम गर्ने निर्णय गर्यो। यसरी असार २४ को विशेष साधारण सभाले नेपाल सरकारलाई ३३ दशमलव ८३ प्रतिशतको मात्र हिस्सेदार बनाएको छ।
 
यही साधारण सभाले मिल्सका सञ्चालक समितिका अध्यक्ष निलहरि काफ्लेलाई प्रबन्ध सञ्चालक र वसन्त वनलाई अध्यक्षमा निर्वाचित गर्यो।
 
असार २४ कै साधारण सभाले कम्पनीलाई नेपाल स्टक एक्स्चेन्ज र धितोपत्र बोर्डमा पुनः सूचीकृत गर्ने, प्रबन्धपत्र नियमावली संशोधन गर्ने, अधिकृत र जारी पूँजी वृद्धि गर्ने, कम्पनीका व्यावसायिक कार्यक्षेत्र र उद्देश्य विस्तार गर्नेलगायतका निर्णय गरेको छ।

थप  विजमाण्डूमा पढ्न सक्नुहुनेछ।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell