काठमाडौं: यो साता फ्राइडे रिलिज अन्तर्गत दुई नेपाली फिल्म सार्वजनिक भए। फिल्म 'जोनी जेन्टलम्यान' र 'लिला' प्रदर्शनमा आएका हुन्।
नितिन चन्दको निर्देशन रहेको ‘जोनी जेन्टलम्यान’मा पल शाह र आँचल शर्मा मुख्य कलाकार हुन्। फिल्ममा हर्कुलेस बस्नेत, व्रिजेश श्रेष्ठ र स्वचित शाक्यको संगीत रहेको छ प्रशान्त तामाङको नृत्य निर्देशन तथा प्रकाश विक्रम शाहको द्धन्द्ध निर्देशन रहेको छ। रिभेन्ज लभस्टोरीमा मुख्य पात्र जोनीको व्यवहारिक परिवर्तनसँगै आँचलसँगको प्रेम कथा मुख्य विषय हो। युट्युबमा नेपाली सर्ट फिल्मका लागि चर्चामा रहेको योर स्टाइलको यो पहिलो फिचर फिल्म हो।
त्यस्तै फिल्म 'लिला' पनि रिभेन्ज ड्रामा नै हो। फिल्मलाई रमेश कोइरालाले निर्देशन गरेका हुन्। लक्ष्मण बस्नेत, विमला घिमिरे (दंगाल) निर्माता रहेको फिल्मको कथा लेखन लक्ष्मण बस्नेतले नै गरेका हुन्। फिल्ममा मलिना जोशी, राज कटुवाल, संचिता लुइटेल, धु्रर्व कोइराला, निस्तोज निरौला, देवीराम पराजुली, (भोकलाग्यो), पंकज नेपाल, स्वानीका बास्तोला, जेएन घिमिरे, यादव बैरागी र बालकलाकार प्रियंसु सिंह क्षेत्री लगायतको अभिनय रहेको छ। अभिनेत्री सञ्चिता लुईंटेलको अभिनय कमब्याकमा यो दोस्रो फिल्म हो।
दुबै नेपाली फिल्मले मल्टिप्लेक्स साथै सिंगल स्क्रिनमा पनि शो पाएका छन्।
बलिउडतर्फबाट भने यो साता कङ्गना रनावत स्टारर फिल्म 'सिमरन' सार्वजनिक भएको छ। जुवाडे महिलाका समस्याको कथामा बनेको फिल्मलाई हंसल मेहताले निर्देशन गरेका हुन्। कमेडी ड्रामामा अन्य कलामा सोहम शाह, इशा तिवारी पाण्डे, अनिशा जोशी लगायतको पनि अभिनय रहेको छ।
यो शुक्रबार नेपालका लागि हलिउड फिल्म भने कुनै पनि सार्वजनिक भएका छैनन्।