PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

बाढीले गैँडाका बच्चा बगाएको अनुमान, निकुञ्जले राख्यो गणना प्रस्ताव



पहिलोपोस्ट

बाढीले गैँडाका बच्चा बगाएको अनुमान, निकुञ्जले राख्यो गणना प्रस्ताव

चितवन :  साउन अन्तिम साता आएको बाढीका कारण चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुर्लभ वन्यजन्तु एक सिंगे गैँडाका धेरै बच्चा बगाएको अनुमान गरिएको छ। 

जसका कारण आगामी वर्ष निकुञ्जमा गैँडा गणना गर्नु पर्ने प्रस्ताव निकुञ्ज कार्यालयले गरेको छ। 

सन् २०१५ मा चितवन राष्ट्रिय निकुञ्जमा गैँडा गणना गरिएको थियो। चार वर्षको फरकमा गैँडा गणना गरिँदै आएको छ। 

बाढीको ठूलो प्रभावका कारण अवस्था पहिचान गर्न तीन वर्षमा नै गणनाको प्रस्ताव गर्न लागिएको हो। निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार वास्तविक अवस्था थाहा हुन नसके पनि गैँडाका धेरै बच्चा बगाएको अनुमान गरिएको छ। 

एक वर्षमा ५० हाराहारी बच्चा जन्मने गरेको भन्दै कँडेलले माउलाईसमेत धेरै टाढा नदीले बगाएर पुर्याएको बताए। 

बाढीका कारण प्रत्यक्षरुपमा तीन गैँडा मरेका थिए भने एउटा बाढीपछि घाँसको अभावमा चर्ने क्रममा जुधेर मरेको थियो। 

कँडेलका अनुसार बाढीले भारतको वाल्मीकि टाइगर रिजर्भ पुर्याएका आठ गैँडालाई उद्धार गरी ल्याइएको छ। एउटा अझै भारतमा रहेको बताइएको छ। नेपालतर्फ नवलपरासीको नरसहीमा एउटा र त्रिवेणीमा बच्चासहित एउटा गैँडा रहेको कँडेलले बताए। 

निकुञ्ज हुँदै बग्ने नदी छेउछाउमा घाँसे मैदान व्यवस्थापन गरिएको छ । घाँस र पानी पाउने भएपछि गैँडा नदी छेउमा नै बस्ने गर्छन्। साना गैँडाका बच्चा आमासँगै हिँड्ने गर्छन्। 

निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार गैँडाका बच्चा करिब तीन वर्षसम्म आमासँगै हिँड्ने गर्छ। यसलाई हेर्दा करिब १५० बच्चा आमासँगै रहेको अनुमान गरिएको छ। 

गत साउनमा अबिरल वर्षसँगै आएको बाढी आएपछि गैँडा बगाएको थियो। भारतीय क्षेत्रबाट उद्धार गरिएका अधिकांश गैँडा वयस्क रहेका छन्। बाढीले आफ्नो क्षेत्रभन्दा अन्यत्र पुर्याएकाले पनि निकुञ्जका गैँडा अहिले अन्योलमा परेको कर्मचारीको भनाइ छ। 

झण्डै तीन सातासम्म खान नपाएर कष्टकर रुपमा रहेकाले उद्धार गरिएका गैँडा दुब्लाएर हाड छाला मात्र भएको अवस्थामा भेटिएका थिए। 

वास्तविक तथ्यांकको अवस्थालाई थाहा पाउन सन् २०१८ मा गैँडा गणना गर्नु पर्ने प्रस्ताव गर्न लागिएको प्रमुख संरक्षण अधिकृत कँडेलले बताए।

सन् २०१५ को गणनाअनुसार निकुञ्जमा ६०५ गैँडा रहेका थिए। त्यसपछि बर्दियामा आठवटा र शुक्लाफाँटामा पाँच स्थानान्तरण गरिएको छ। 

बाढीले बाघसमेत बगाएको प्रत्यक्षदर्शीले जनाएको भन्दै उहाँले यसै मंसिरमा बाघ गणना गरिने भएकाले बाघको वास्तविक तथ्यांक आउने बताए।

बाढीले मांसाहारीका आहारा प्रजातिका जरायो, लगुना, मृग, बँदेल, चित्तलजस्ता जनावर एक हजारभन्दा बढी मरेको अनुमान गरिएको छ। 

बाढीबाट निकुञ्जको समग्र पर्यावरण खलबलिएपछि यसलाई पूर्ववत् अवस्थामा ल्याउन निकुञ्ज र दातृ निकायसँग छलफल सुरु भएको कँडेलले बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell