अखबारले याँमानको अक्षरमा छापेको थियो : नवराज सिलवाललाई म गृहमन्त्री बनाउँछु।
कनिकाको उत्सुकता बढ्यो, को रहेछ यो जसलाई पनि गृहमन्त्री बनाउन सक्ने? उतिबेला राजतन्त्रको समयमा राजालाई जसले रिझाउन सक्यो उसलाइ राजाले मन्त्री बनाइ दिन्थे भन्ने सुनेकी थिइ बाबाबाट। राजा त अब छैनन्। जसलाई पनि राजा बनाउन सक्ने यी को आएछन् त?
कनिका नवराज सिलवाललाई चिन्दथी। पढेलेखेका पुलिस अफिसर थिए। घर परिवारका मायालु संरक्षक। मानिस सरल थिए। तर, उनीमाथि लाग्यो पुलिसमा बसेर छडके राजनीति गरेको आरोप। सरकारले उनलाई प्रमोट नगरेपछि उनी लागे मुद्दा मामिलामा। कनिकाले आफनी हजुरमाँबाट सुनेकी थिइ, अरु जे दशा लागेपनि मानिसलाई सरकार लाग्नु हुँदैन। सरकार लागेपनि माँ सुशीला थिइन्। उनको अवकाशपछि त अदालत पनि लाग्यो उनलाई। त्यसपछि उनले राजिनामा दिए।
कनिकाले देखी, उनै नवराजलाई गृहमन्त्री बनाउन कस्सिएर लागेका रहेछन् केपी ओली। कनिकालाई लाग्यो, भन्न त भनी हाले ओलीले। अब यो कुरा नवराजजीले कसरी पत्याउनु? संसदभित्र नपसेसम्म मन्त्री बन्न सकिन्न। मन्त्री नै बनाउने हो भने ओलीजीले आगामी संसदीय चुनावमा कुनै एक निर्वाचन क्षेत्रको उम्मेदवार बनाउने घोषणा गरे भइ हाल्यो।
सिंगारको मुडमा थिइ कनिका। आज उसको छुट्टी। काम गर्नु त थिएन। तर, पत्रकारको मन त नारायण वाग्लेको निबन्ध जस्तै हो जो चार अंकसम्म कता-कता रुमल्लिँदै ल्हासा पुग्दछ। कनिकाको मन पनि समाचार र संजालमा रुमल्लिँदै थियो। संजालको एउटा कुनामा लेखिएको थियो, ‘सडकको पोलमा पार्टीको झण्डा होइन, सीएफएल चीम झुण्ड्याउनु पर्दछ।’ सत्य कुरा हो, सडकको पोलमा झुण्ड्याउने त सीएफएल चीम नै हो। तर, चुनावको यो मौसममा यो लेख्ने मानिसको चुनाव चिन्ह सीएफएल चीम नै हुनुपर्छ। मानिसले सोझै बुझ्दा यसरी नै बुझ्ने हो।
कनिका आफैंलाई थाहा थिएन छुट्टीको दिनमा पनि उसको मन किन समाचार बाहिरको दुनियाँमा रमाउन सकेको छैन? मन्त्रीजीको नेतृत्वमा दरवार मार्गका ठूला स्टोरहरुमा छापा मारिएको घटना उसले बुझ्न सकेकी थिइन। सिधा औंलाले घीउ नआएपछि मन्त्रीहरु घीउ निकाल्न ठेकीमा औंला घुसाउँछन्। त्यसरी ठेकीमा औंला घुसार्न हुने हो कि होइन? मन्त्रीहरुलाई त्यसको मतलब नै हुँदैन। मन्त्रीको नेतृत्वमा दरवारमार्गका स्टोरहरुमा छापा मारिएपछि व्यापारीहरुमा आतंकको संचार भयो। उनीहरुले प्रधानमन्त्रीलाई गुहार्ने विचार गरे। दुर्भाग्यवश प्रधानमन्त्री चुनाव प्रचारमा मधेश गएका थिए। उनका सहयोगीहरु शुक्रवार प्रकाशित हुने एउटा साप्ताहिक म्यागजिनमा प्रधानमन्त्रीले व्हिस्कीको ग्लास समातेर आरामसाथ पिउँदै गरेको आपत्तिजनक अवस्थाको एउटा पुरानो फोटो छापिएपछि ‘यो कसरी सम्भव भयो’ भनेर छलफल गर्दै थिए।
कनिका दिक्क थिइ। उसले रेभलनको फेसियल पाउडर, लोरियलको क्रिम, शान्ता फेको लिपस्टिक र केल्भिन ल्केनको पर्यूक्म यूजगर्ने गरेकी थिइ। उसको स्पोर्टस शू नाइक पनि पुरानो भै सकेको थियो। दरवारमार्गका पसलहरु बन्द मात्रै थिएनन्, पच्चीस रुपैयाँको माल पच्चीस सय रुपैयाँमा बेचेको भेटिएपछि बदनाम पनि भएका थिए। अब ती सामान कहाँ किन्ने? यो ठूलै धर्मसंकटको समय थियो कनिकाको लागि। उ सँधै पोण्डसको कोल्डक्रिम लगाउँथी। पोहोर चावेलमा किनेर अनुहारमा लगाएकी थिइ। तेश्रो दिनमा नै उसको मुखमा चायाँ देखियो। चायाँको त्यो पोतो हट्न तीन महिना लाग्यो।
साँझ ऊ सुदिप्तीलाई भेटन अफिस पुगी। सुदिप्ती जिस्किने मुडमा थिइ, ‘के भयोडार्लिङ ? डेटिङमा गएको होइन आज ? व्वाइफ्रेण्डले छोड्यो कि के हो ?’ कनिका केही बोलिन। सुदिप्तीले भनी, ‘तेरो मूड खराव जस्तो छ। हिंड तल एम्पायरको लाउन्जमा जाउँ।’
उनीहरु लाउन्जमा पुगेर व्हिस्की साउर अडर गरे। त्यसको साथमा हाँसको छोयला र मटर चटपटे मँगाए। यी दुवै स्न्यास्क रेगुलर मेनुमा थिएनन। यसको बिल वेग्लै थियो। यो बिलमा सरकारलाई भ्याट बुझाउनु पर्थेन।
पिउँदै जाँदा कनिकाले सुदिप्तीलाई आजको विवरण सबै सुनाइ। सुनी सकेपछि सुदिप्तीले भनी, ‘हेर कनि। तँ आजैदेखि एउटा शानदार स्तम्भ लेख। मनको कुरा खोलेर लेख। पारिश्रमिक पनि पाउँछेस्। रह्यो कुरा तेरो सामानको। सिंगापुरमा अर्को साताहुने गिल्डको सम्मेलनमा मसँग जाँदैछेस तँ। तँलाइ जे जे किन्नु छ त्यही किन्नु।’
कनिका मख्ख थिइ।
(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको 'कान्तिपुर गाथा' तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। टेलिसिरियल शैलीमा लेखिएका गाथा हरेक हप्ता पहिलोपोस्टमा)