दमक : भुटानी शरणार्थीले समस्याको दीर्घकालीन समाधानका लागि पहल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्।
एक सातापछि अमेरिकामा हुन लागेको संयुक्त राष्ट्र संघको महासभामा भाग लिन जान लागेका प्रधानमन्त्री देउवालाई भुटानी शरणार्थीहरुले अपिल गर्दै शरणार्थी समस्यालाई अन्तर्राष्ट्रियकरण गर्न माग गरेका हुन्।
शरणार्थी ज्येष्ठ नागरिक स्वदेश फिर्ती समितिका प्रवक्ता सन्तवीर घलेले अमेरिकाको न्युयोर्कमा हुन लागेको ७२औँ महासभा बैठकमा नेपालमा शरणागत जीवन बिताइरहेका भुटानीको समस्यालाई गम्भीर ढंगले उठाउन आग्रह गरेका हुन।
शरणार्थीले विज्ञप्तमिा भनेको छ, “झापा र मोरङका दुई वटा शिविरमा आश्रित भुटानी शरणार्थीलाई ससम्मान स्वदेश फिर्ती गर्न मुद्दालाई राष्ट्र संघमा उठाइदिन जरुरी छ।”
लामो समयदेखि स्वदेश फिर्तीको कुरा ओझेलमा परेको स्मरण गराउँदै उनीहरुले महासभाको बैठकले सो मागलाई मुख्य कार्यसूचीका रुपमा उठाइदिन प्रधानमन्त्रीसँग माग गरेको प्रवक्ता घलेद्वारा हस्ताक्षरित विज्ञप्तिमा छ।
उनले भने, “भुटान सरकारलाई दबाब दिनका लागि महासभाको बैठक अत्यन्त अनुकूल छ, यसबाट शरणार्थी आशावादी रहेका छन्। हामीले वर्षौंदेखि स्वदेश फर्कन पाउनु पर्ने माग गर्दै आएका छौँ, हाम्रो समस्या महासभामा उठाइए अन्तर्राष्ट्रिय मुद्दा बन्ने छ।” रासस