काठमाडौं : मुमताज बेगम म्यानमारमै थिइन्। सरकारी सेनाले घर जलाइदियो। भएभरको सम्पति लुट्यो। गोठमा भएका बस्तुभाउ मान्छेसँगै काटे। त्यसबेला छिमेकी र आफन्त धेरै मारिए। परिवारसँगै बसिरहेको बेला बाहिरबाट चुकुल लगाए अनि आगो झोसिदिए। उर्दु भाषा सिकिरहेका बालबालिका त्यही भष्म भए।
घटना सन् २०१३ को हो। सम्झँदामात्र पनि भावुक हुन्छिन् उनी। बुर्काले मुख ढाकिँदा पनि टिलपिल आशु देखिन्छ आँखामा। अनि भक्कानिँदै टहराभित्र छिर्छिन्।
सँगै रहेका मुमताजका छोरा मोहमद सफिर आलम घटनाको बेलिबिस्तार लगाउँछन्।
दिक्क मान्दै भन्छन्, 'खै के हुने हो कसैलाई केही थाहा छैन्। दिनदिनै हाम्रो आफन्तहरु मरेको खबर आएको छ। बोर्डरमा गोली लागेर मरे। उतै जले धेरै। कति पानीमा डुबे।'
मुमताज टहराभित्रबाट आशु पुछ्दै बाहिर निस्किन्छिन्।
त्यसपछि सुनाउछिन् उनको कथा र नेपाल नाता।
मुमताज म्यानमारमा बस्न नसक्ने भइन्। उनको १० र १२ वर्षका २ छोरी र ७ वर्षको एउटा छोरा थिए। हिंसा भड्किएकाले पति बेपत्ता! मरेको बाँचेको केही थाहा थिएन्।
उनले मन गह्रौं बनाएर देश छोड्ने निर्णय गरिन्। र्याकेनस्टेटको रियादिन फारा गाउँ छोडेर बंगलादेशको सीमाना तर्फ ज्यान बचाउँन छिरिन्।
दिनभरि बाँसको डुंगामा कठिन यात्रा। बालबच्चा भोकै। म्यानमारमा सेनाले गोली हान्ने उस्तै खतरा।
सँगै भागेर आएका ५ जना बंगलादेश छिर्न नपाइ सेनाको गोलीले ठहरै भए। ज्यान जोगाउन देश छोडेर भागेका उनीहरुको जीवन आफ्नै देशमा समाप्त भयो। धन्न मुमताजको परिवारलाई केही भएन।
उनी अनेकौ संघर्ष गरेर बंगलादेशको बोर्डर आइपुगिन्। बाटोको कठिन यात्रा व्यक्त गर्न शब्द छैनन् उनीसँग।
उनी ती दुखद् यात्रा सम्झन पनि चाहन्नन्।
…
म्यानमारमा गोली चल्दा कपनमा रुवावासी! म्यानमार हिंसाको यस्तो छ नेपाल कनेक्सन
मुमताजको पूरै परिवारलाई बंगलादेश छिर्ने बित्तिकै प्रहरीले पक्राउ गर्योर। चार जनालाई फरक फरक जेलमा थुनिदियो।मुमताजलाई डाकागाजीपुर जेल, सात वर्षे छोरा मोहमद सफिरलाई सिटाङ जेल र छोरीहरुलाई खाताजारी जेलमा थुनेको थियो।
‘हाम्रो देशमा किन आयौ। जाओ आफ्नै देशमा भन्दै बंगालीहरुले कुट्थे,’ मुमताजले सुनाइन, ‘मुस्लिम देश भए पनि बंगलादेशमा हामीलाई गाह्रो। सबै डाँकाहरु मात्रै। अलिकति पैसा बोकेको देख्यो भने लुट्ने र मारेर फ्याँकिदिने। हाम्रा लागि प्रहरी प्रशासन केही थिएन।’
मुमताजको छोरा मोहमद सफिर आलाम त्यतिबेला ७ वर्षको थिए। ‘खाना नपाएर बसेको बेला पुलिसले पक्रेर जेलमा थुन्यो। कुट्यो। साले बर्मेली अर्काको देशमा किन आइस् भन्यो,’ आलमले सम्झिए, ‘ज्यान जोगाउन भागेका हामी जेलमा पर्यौ। आफ्नो देश छोडेर भाग्दा बंगलादेशमै मरिन्छ जस्तो थियो धन्न बाच्यौँ।’
अहिले उनी १२ वर्ष भइसकेका छन्।
जेल परेको सात महिनासम्म उनीहरुले एकअर्कालाई भेट्न पाएनन्। म्यानमारबाट भागेर आएका आफन्तहरुले जेलमा पैसा तिरिदिए। ४ जनाको ३० हजार रुपैयाँ। त्यसपछि उनीहरु जेलबाट छुटे।
बंगलादेशबाट भारत छिर्न त्यस्तै गाह्रो। भारत छिर्न पनि बोर्डरमा घुस खुवाउनुपर्ने। घुस खुवाएर बंगलादेशबाट भारत हुँदै उनीहरु नेपाल आए। नेपाल आइपुग्न गरेको संघर्ष छुट्टै थियो।
म्यानमारबाट बगलादेश र भारत हुँदै नेपाल आउन पूरै वर्षदिन लाग्यो। सात महिना जेलसमेत बसेर।
ज्यान जोगाउँदै म्यानमारबाट अनायास छिरेका नुर जो नेपालकै ज्वाइँ बने
…बंगलादेशबाट भारत छिरेपछि नेपाल सजिलै आइपुगे। किनकि, पहिला अरु परिवार नेपाल आएर बसेका थिए।
कपनको टहरोमा उनीहरुको ४ जनाको परिवार पनि छ। काम गर्ने कोही छैन्। मुस्लिम परिवारमा छोरी मानिसहरुले बाहिर गएर काम गर्न मिल्दैन।
‘के खान्छन् त उनीहरु?’
‘अल्लाहले दिनुहुन्छ।’
मुमताजले अस्पष्ट कुरा गरिन्। सँगै बसेका आलमले प्रष्ट्याए, ‘यतै टहरामा सबैले सहयोग गरेका छन्। सबैको हालत खराब भए पनि जे छ त्यही बाँडेर खान्छौं।’
…
मुमताजको बेपत्ता पति एक सताअघि म्यानमारबाट भागेर बंगलादेश आएको खबर पाइन्। खुशीको सीमा रहेन उनमा। तर, खुशीको खबरसँगै दुखद् समाचार पनि थियो। उनका पतिको बंगलादेशमा बिचल्ली छ।
‘उहाँ जिउँदै हुनुहुन्छ भन्ने खबर आयो। बंगलादेशमा खाना नपाएको तीन दिन भयो रे। अब प्रहरीले पक्राउ गरेन र खाना पाए भने बाँच्छन् होला। नेपाल आइपुग्ने त कहिले हो कहिले,’ मुमताजले सुस्केरा हालिन्, ‘यत्रो वर्ष कहाँ कसरी बाँचेको हो। हामीले जिउँदै छन् भन्ने आशा मारिसकेका थियौं।’
अहिले पनि मुमताजलाई उनी नेपाल आइपुग्छन भन्ने आशा कमै छ। कारणहरु धेरै छन्।
…
म्यान्मारबाट कपन पुगेका सलिमलाई सपनामा पनि लखेट्छ उताको हिंसाले
‘आफ्नो देश जान मन लाग्छ। तर, दिनहुँ विभत्स तरिकाले मारेको फोटोहरु हेर्नुपरेको छ। आफ्नै छिमेकीहरुलाई जिउँदै जलाएको आँखामा झल्झली आउँछ। ती बच्चाहरु जिउँदै जलाएको सम्झदा ज्यान सिरिङ्ग हुन्छ,’ मुमताज भावुक सुनिइन्, ‘कुनै न कुनै दिन कसो शान्ति नहोला! मर्नको लागि आफ्नै माटोमा पुग्ने चाहना छ।’
‘५० लाखभन्दा बढी थिए अहिले ३० लाख मात्र मानिसहरु देशमा छन् भनेको सुन्छु। उनीहरु पनि दिनहुँ भाग्दैछन्। हजारौलाई मारिसक्यो। अझै कति मार्ने हो?’ उनले सुनाइन्, ‘यस्तै हो भने म्यानमारबाट हामी मुस्लिमहरु सबै विस्थापित हुन्छौं। हामी कहिल्यै आफ्नो देश फर्कन पाउँदैनौं।’
मुमताजको छोरा आलम झनै पीडामा छन्। देशको अवस्थाले उनीजस्ता लाखौंको भविष्य बिग्रिएको छ। ‘यता पढ्न पनि पाइँदैन। न नागरिकता बनाउन नै पाइन्छ। अब कसरी जागिर खानु? जन्म दर्ता समेत छैन,’ उनले सुनाए।
हजार दु:ख र आफ्नो देश नभए पनि एउटा कुरामा ढुक्क छन्। भन्छन्, ‘समस्या धेरै भए पनि नेपाल अरु देश जस्तो छैन। आफ्नो देश नभए पनि नेपाल हाम्रा लागि स्वर्ग छ।’
कपन टहरामा बस्ने आधीजसो बेरोजगार छन्। भाषाको समस्याले काम पाउन मुस्किल। हिंसा बढ्दै गएकाले दिनहुँ टहरामा मानिसहरु थपिँदै छन्। उनीहरु सबैको साझा समस्या छ - के खाएर बाँच्ने? काम कसरी पाउने?
…
म्यानमारमा हिंसा भड्किएको सन् २०१२ देखि हो। सात वर्षभित्रमा म्यानमारका रोहिंगा समुदायका मानिसहरुको हजारौको सङ्ख्यामा मृत्यु र लाखौ विस्थापित भएका छन्।
गत अगस्ट २५ देखि फेरि हिंसाले उग्र रुप लिएको छ। अहिलेसम्म १ लाख २५ हजारभन्दा बढी रोहिंगाहरु विस्थापित र हजारौंको सङ्ख्यामा मरिसकेका छन्।
फोटो सौजन्य : गगन थापा