
इस्लामाबादः आफूलाई अपदस्थ गरिएको बिषयलाई लिएर पूर्वप्रधानमन्त्री नवाज सरिफले दिएको सबै पुनरावलोकन आग्रहलाई पाकिस्तानको सर्वोच्च अदातलले खारेज गरिदिएको छ।
पूर्वप्रधानमन्त्रीले पुनरावलोकनका लागि दिएको सबै निवेदन खारेज गरिएको सर्वोच्च अदालतका न्यायाधिश असिफ साएद खोसाले बताए।
पुनरावलोकनका लागि सरिफले दिएको निवेदन जाँचबुझ गर्न पाकिस्तानी सर्बोच्च अदालतमा गठित पाँच सदस्यीय न्यायिक समितिमा न्यायाधीश खोसा एक जना सदस्यसमेत हुन्।
त्यसैगरी, पूर्वप्रधानमन्त्री सरिफ, उनका दुई छोरा हुस्सेन र हसन, तथा पुत्री मार्यामबिरुद्ध पनि भ्रष्टाचारजन्य अपराधको आरोपमा मुद्दा दायर गर्न सर्वोच्च अदालतले पाकिस्तानको भ्रष्टाचार तथा अख्तियार दुरुपयोग नियन्त्रण निकाय – नेशनल एक्काउन्टेबिलिटि ब्यूरोका नाममा छुट्टै आदेशसमेत जारी गरेको छ ।
बहूचर्चित पानामा पेपर्स भ्रष्टाचार काण्डमा उनको नामसमेत मुछिएको सार्वजनिक भएपछि उनलाई सर्वोच्च अदालतले प्रधानमन्त्री पदका लागि अयोग्य ठहर गरी अपदस्थ गर्ने आदेश जारी गरेको थियो।
उनीमाथि स्रोत नखुलाई विदेशमा अकूत व्यक्तिगत सम्पत्ति राखेको आरोप पनि लगाइएको थियो। उनले यो आरोपको बारम्बार खण्डन गर्दै आए पनि सर्वोच्च अदालतको फैसलापश्चात् तत्कालै प्रधानमन्त्री पदबाट राजिनामा दिई देशमा उत्पन्न हुनै लागेको राजनीतिक अस्थिरतालाई बुद्धिमानीपूर्वक सफल अवतरण गराउनुका साथै पूर्णरुपमा प्रजातान्त्रिक निकासको बाटो खोलिदिएका थिए।
गतवर्ष नै सार्वजनिक भएको पानामा पेपर्स भ्रष्टाचार काण्डमा मुछिएको आरोप लागेपछि प्रधानमन्त्री सरिफ र उनको परिवारविरुद्ध अनुसन्धानको क्रममा गत जुलाईको अन्त्यतिर सरिफलाई सर्वोच्च अदालतले पदबाट हट्न आदेश दिएको थियो।
पाकिस्तानको ७० वर्षे इतिहासमा आफ्नो पूरा कार्यकाल नसकिदै पदबाट हट्नु परेको उनी १५औं प्रधानमन्त्री हुन्।
सरिफको सांसद पदसमेत खारेज भएपछि लाहोर निर्वाचन क्षेत्रमा हुन गई रहेको उप–निर्वाचनको मुखैमा आएको सर्वाेच्च अदालतको यस आदेशले सरिफको पार्टीलाई धक्का पुग्ने अनुमान गरिएको छ।
सरिफपत्नी काल्सुमले पनि लाहोर निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएकी छिन्। निर्वाचनका दृटिकोणले लाहोरको सम्पूर्ण इलाका सरिफ तथा उनको पार्टीको सुरक्षित पकड क्षेत्र मानिन्छ।
पञ्जाव प्रान्तमा जन्मिएका सरिफ पाकिस्तानमा तीन पटक प्रधानमन्त्री भैसकेका छन्। रासस/एएफपी