PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

देशको सम्पूर्ण ध्यान २ नम्बरतिरै



रमेश वाग्ले

देशको सम्पूर्ण ध्यान २ नम्बरतिरै

काठमाडौं : राजपाले निर्वाचन बहिस्कार गर्ने घोषणा गरेपछि गत वैसाख ३१का लागि घोषणा भएको स्थानीय तह निर्वाचन प्रदेश नम्बर-२ मा सोमबार हुँदैछ। निर्वाचन नै नहुने भन्दै तेस्रो चरणमा पुगेको प्रदेश नम्बर-२ मा हुन लागेको निर्वाचन अन्त्यमा सबैभन्दा धेरै रौनक ल्याउन सफल पनि भएको छ।

कांग्रेसका नेताहरुको ग्रुप वाक

प्रदेश नम्बर दुईको निर्वाचनमा शीर्ष नेताले यति धेरै समय दिए त्यति सायद उनीहरुले संघीय र प्रतिनिधिसभा निर्वाचनमा पनि दिन नभ्याउलान्। प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश नम्बर-२ का चारवटा जिल्लामा चार दिन लगाएर घुमे। तीन जिल्लामा त बास नै बस्न भ्याए। 
पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवलाई साथमा लिएर प्रत्येक जिल्लामा पुगेर देउवाले पार्टीमा कुनै विवाद नभएको सन्देश दिने प्रयत्न गर्दै कार्यकर्तादेखि जनतासम्मलाई फकाउने काम गरे। 
 

विमलेन्द्रको काँधमा कांग्रेस

निर्वाचनको धेरैअघि देखि प्रदेश नम्बर दुईको कमाण्डर दावी गरेका नेता विमलेन्द्र निधिलाई सभापति देउवाले पूरै जिम्मेवारी दिए। यतिसम्मकी विगत स्थानीय निर्वाचनमा जस्तोै कुनै जिल्लामा पनि केन्द्रीय सदस्यहरुको टोली तोकेनन्। जित भए श्रेय लिने र हार भए त्यसको दोष दिने ठाउँ उनले निधिलाई नै छाडिदिएका छन् यसपाला। 

प्रचण्डको एक महिना

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूरा एक महिना प्रदेश नम्बर - २मा गुजारे। उनले मधेशमा अहिलेको भोट माग्ने मात्र नभएर मधेशसँग नजिक भएर बस्ने नेता छ भनेर भोलिका निर्वाचनलाई समेत बलियो उपस्थिति बनाउन कार्यकर्ता र जनतासँग घुलमिलको प्रयास गरे। 

माधव नेपालको मेहनत

नेकपा एमालेका नेता माधव नेपाल मधेशका प्रत्येक जिल्लामा पुगेर संविधान जारी भएदेखि मधेशमा बिग्रिएको एमालेको छवि सुधारमा लागे। मेची-महाकाली अभियानका क्रममा गत चैतमै सप्तरीको राजनविराजमा एमाले र मधेशी मोर्चाका कार्यकर्ताबीच झडप भएर प्रदेश नम्बर-२मा अभियान रोकेर फर्किएपछि मधेसमा छिटफुटमात्र पुगेको एमालेलाई फेरि प्रत्येक ठाउँमा पुर्‍याउने जिम्मेबारी नेपालले पूरा गरे। उनले प्रत्येक जिल्लामा पुगेर एमाले मधेश विरोध पार्टी हैन भन्दै जनतालाई गलत धारणा राखेर नबस्न आग्रह गरेका थिए।

थोरै सक्रिय ओली

अघिल्ला दुई चरणका निर्वाचनमा शीर्ष नेताहरु मध्यमै सबैभन्दा सक्रिय देखिएका एमाले अध्यक्ष केपी शर्मा ओली भने तेस्रो चरणको निर्वाचनमा त्यति सक्रिय भएनन्।  

मनोनयन दर्ता हुनु अगावै उपचारका लागि थाइल्याण्ड गएका ओलीले फर्कदा एयरपोर्टबाटै राजपालाई 'राजनीति गर्नु छ कि छैन?' भन्दै थर्काउने भाषा प्रयोग गरेका थिए। राजपाका कार्यकर्ताले एमाले निषेध भन्दै नारा लगाउँका विषयमा आक्रोशित देखिएका ओली मधेशमा पनि त्यही ढंगको उपस्थिति जनाउन भने समर्थ भएनन्। प्रचारको अन्तिम दिन उनले केही सभालाई सम्बोधन भने गरे। 


नजमेका मधेशवादी दल 

मधेश केन्द्रित राजनीतिक दलका केही उम्मेदवार विवाद र त्यसबाट उठेका विषय बहसमा रहे पनि नेताहरुले त्यति सारो चर्चा बटुल्न सकेनन्। प्रदेश नम्बर-२ बाटै राजनीति गर्ने भए पनि उम्मेदवार काठमाडौंमा टुंग्याएर मात्र मधेश झरेका राजपाका नेताहरु निर्वाचनको प्रचारमा त्यति जम्न सकेनन्। 

अघिल्ला दुई चरणका निर्वाचनमा समेत भाग लिएका नेपाल लोकतन्त्रिक फोरम र संघीय समाजवादी फोरमका नेताहर विजय गच्छदार र उपेन्द्र यादव पनि छिटपुट मात्र चर्चामा आए। तर, सबैको केन्द्र भने प्रदेश नम्बर-२ नै भएको थियो। 

मन्त्रीदेखि सांसद्सम्म प्रदेश नम्बर-२ मै 

नेपाल सरकारका मन्त्रीदेखि सांसद्हरुसम्म पूरै प्रदेश नम्बर-२ मै केन्द्रित भए। सरकारका मन्त्रीहरुले पूरै समय उतै बिताउन लागेको थाहा पाएपछि निर्वाचन आयोगले प्रदेश नम्बर-२ मै मतदाता रहेकाबाहेक सबै मन्त्रीलाई काठमाडौं फर्कन निर्देशन नै जारी गर्‍यो। 

अधिकांश पार्टीका सांसद्हरु प्रदेश नम्बर-२ कै निर्वाचनमा खटिरहेका छन्। निर्वाचन आयोगले समेत सांसदहरुलाई भने प्रचारमा नहिड्न तथा काठमाडौं फर्कन निर्देशन जारी गरेको छैन। उनीहरु अब निर्वाचनको परिणामसँगै फर्केने सुरमा देखिएका छन्। 

निर्वाचन आयोग पनि २ मै

प्रदेश नम्बर-२ को निर्वाचनमा निर्वाचन आयोग पनि पूरै केन्द्रित छ। एक साताअघि निर्वाचन आयुक्तहरु मधेश झरेर अनुगमन गरेका थिए भने हिजोदेखि प्रमुख आयुक्त डा अयोधीप्रसाद यादव वीरगञ्ज पुगेर अनुगमन थाले। 

प्रत्येक जिल्लाको अनुगमन गरेर प्रमुख निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई निर्दैशन दिँदै प्रमुख आयुक्त यादव मधेश घुमिरहेका छन्। 

विशेष पत्रकार सम्मेलन पनि उतै

प्रमुख आयुक्त यादवले निर्वाचन अघि तयारी र निर्वाचनको वातावरण बुझाउन विशेष पत्रकार सम्मेलन समेत राजविराजमै गर्ने भएका छन्। 'प्रमुख आयुक्तज्यूले विशेष पत्रकार समेमेलन पनि राजविराजबाट गर्नुहुने भएको छ,' आयोगका प्रवक्ता नवराज ढकालले भने, 'उहाँले प्रदेश नम्बर दुईको निर्वाचनमा उहीबाट सबैलाई निर्देशन तथा सुझाव दिनुहुनेछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell