रुकुम : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो संविधानसभाको निर्वाचनमा पहिलो पार्टी रहेको माओवादी केन्द्र आफ्नै अहंकारले तेश्रो बनेको बताएका छन्।
पूर्वी रुकुमको सिस्ने गाउँपालिकाको रुकुमकोटमा शनिबार आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एकपछि अर्को विभाजनको प्रक्रियाबाट पार्टी गुज्रिएकाले पनि जनतामा निरास हुनसक्ने भएकाले अब सबै माओवादी शक्ति मिल्नुपर्ने समय आएको बताए।
उनले भने,“जनयुद्धमा जनताकाबीचमा हामी थियौँ, उत्पीडित वर्गको साथी बनेर अघि बढ्यौँ, शान्ति प्रक्रियामा आइसकेपछि संगठनले जसरी जनताका बीचमा जानुपर्ने हो, त्योअनुरुप जान सकिएन, फलस्वरुप स्थानीय तहको चुनावमा सन्तोषजनक परिणाम आएन, तर पनि हाम्रो ऐजेण्डा जितेको छ।”
अध्यक्ष प्रचण्ले भने,“आफूहरुले चलाएको जनसत्ताको वैधानिक रुप नै अहिलेको स्थानीय सरकार भएको छ, कसैले माने पनि नमाने अहिलेको स्थानीय तह हिजोका जनसत्ता नै हुन्, तपाईहरु राम्रोसँग बुझ्नुहोला, अनि काम पनि त्यसरी नै गर्नुहोला।’
“अब काँग्रेस, एमालेले जिते पनि संघीयता खारेज गर्छु भन्न सक्ने अवस्था छैन”– उनले भने, “एकपछि अर्को विभाजनको प्रक्रियाबाट पार्टी गुज्रिएकाले पनि जनतामा निरास हुनसक्ने भएकाले अब सबै माओवादी शक्ति मिल्नुपर्ने समय आएको छ ।”
अध्यक्ष प्रचण्डले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टी सबैभन्दा ठूलो पार्टी बन्ने दावी गर्दै पछिल्लो समयमा मधेश, तराई, पहाड र हिमाल सबैतिर माओवादी केन्द्रमा फर्कनेको ठूलो लहर रहेकाले अब हुने निर्वाचनमा यो ठूलो पार्टी हुने बताए।
“केही समय पहिले एउटा दलका ठूलै नेताले रुकुममा लोकतन्त्र अझै आएको छैन भन्नुभयो तर म भन्छु रुकुममा असली लोकतन्त्र आएको छ,” उनले भने, “रुकुमेली जनताले सिङ्गो नेपाललाई उत्साहित बनाएको छ, अहिले तपाईहरुले स्थानीय सरकार चलाइरहनुभएको छ, दम्भ नदेखाउनुहोला।”
अध्यक्ष दाहालले पूर्वी रुकुमको आर्थिक, सामाजिक र रानीतिक विकासका लागि आफ्नो पार्टीले सक्दो सहयोग गर्ने घोषणा पनि गरे। रासस