रुपन्देहीः नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कम्युनिष्ट भएको नाटक गर्न सिपालु भएको टिप्पणी गरेका छन्।
क्रान्तिकारी पत्रकार महासंघ जिल्ला समिति, रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष वैद्यले प्रचण्ड कम्युनिष्ट होइनन् तर कम्युनिष्ट भएको नाटक गर्न सिपालु भएका बताए।
अध्यक्ष वैद्यले नेपालका कम्युनिष्टले वामको आवरणमा कम्युनिष्टको नाम भजाएर कम्युनिष्टकै बद्नाम गरिरहेको चर्चा गर्दै माओवादी केन्द्रसँग आफ्नो पार्टीको कुनै पनि हालतमा एकता नहुने प्रष्ट पारे।
“प्रचण्डको काँग्रेससँग कुरा मिल्छ, उहाँले काँग्रेससँग एकता गरे हुन्छ”– वैद्यले भने– “सच्चा क्रान्तिकारीबीच एकता र धु्रवीकरण हुनेभएकाले यसका लागि मसाल, विप्लवसँग छलफल चलिरहेको छ।”
अध्यक्ष वैद्यले उत्पीडकबाट उत्पीडित जनतामा राज्यसत्ता आए मात्रै वास्तविक जनताको शासन सत्ता आउने र त्यसले मात्र जनताको अधिकार सुनिश्चित हुने बताउँदै पार्टी मुलुककै वैकिल्पक शक्तिका रुपमा उदयमान हुने दाबी गरे।
संविधानले गणतन्त्र, धर्म निरपेक्षता, संघीयताजस्ता केही कुराको सुनिश्चितता गरे पनि आदिवासी जनजाति, दलित, मधेसी, मुश्लिमलगायत समग्र जनताको अधिकारलाई ग्यारेन्टी गर्न नसकेको पनि उनले बताए। रासस