नुवाकोट: नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले शिवपुरी गाउँपालिका वडा नं ४ सिक्रेका वडा सदस्य उद्धवबहादुर थापालाई गएराति मोसो दलेर दुव्र्यवहार गरेका छन्।
नेपाली कांग्रेसको तर्फबाट निर्वाचित थापालाई पदीय जिम्मेवारी पूरा नगरेको र शक्तिको दुरुपयोग गरेको अभियोग लगाउँदै मोसो दलेर ‘जनकारबाही’ गरेको नेकपाका जिल्ला सेक्रेटरी सागर तिमिल्सिनाले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
अवकाश प्राप्त हवल्दारसमेत रहेका थापालाई घरमा बसिरहेको समयमा सो पार्टीका कार्यकर्ताले यसअघि सच्चिन सचेत गराए पनि अटेर गरेकाले मोसो दलेर कारबाही गर्न बाध्य भएको जनाएको छ।
थापाले गाउँमा सञ्चालन गरेको औषधि पसल अवैध रहेको र त्यसबाट बिरामीको स्वास्थ्यमाथि खेलबाड गरेको र आव २०६३-६४ मा झोलुङ्गे पुल निर्माणका लागि निर्माण समितिको अध्यक्ष बनेर प्राप्त बजेट अनियमितता गरी पुलको निर्माण अझै सुरु नगरेकाले जनताबाट आएको उजुरीका आधारमा पहिलो चरणमा सचेतस्वरुप मोसो दलेको र नसच्चिए थप कारबाही गर्ने विज्ञप्तिमा उल्लेख छ।
गत शुक्रबार पनि नेकपाको विद्यार्थी भ्रातृ संगठन अखिल क्रान्तिकारीले दुप्चेश्वर गाउँपालिका–१ स्थित इन्द्रेणी प्राविका शिक्षक रामकृष्ण श्रेष्ठलाई नियमितरुपमा विद्यालयमा अध्यापन गराउन नगएको भन्दै कारबाहीस्वरुप मोसो दलेका थिए। रासस