PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

अब प्रदेश नम्बर १ मा पनि हर्न बजाउन निषेध



पहिलोपोस्ट

अब प्रदेश नम्बर १ मा पनि हर्न बजाउन निषेध

ताप्लेजुङ : प्रदेश नं १ मा पर्ने १४ जिल्लामा आजदेखि अनावश्यक सवारी साधनमा हर्न बजाउन नपाइने भएको छ।

ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, भोजपुर, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा र उदयपुरमा हर्न बजाउन नपाइने नियम आजदेखि लागू गरिएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

हर्न बजाउन नपाइने नियम लागू गर्न यसअघि पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले मातहतका ट्राफिक प्रहरी कार्यालयमा पत्राचार गरेको थियो।
सोहीअनुरुप सबै जिल्लामा हर्न निषेधित क्षेत्र लेखिएका बोर्ड राखिएको छ भने यातायात व्यवसायीलाई पत्राचार गरी कार्यान्वयन गर्नमा अनुरोध गरेकाे छ। 

यातायात व्यवस्था विभाग, सडक विभाग, जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त निर्णयमा हर्न निषेधित क्षेत्र बनाउने यसअघि निर्णय भएको थियो। सामान्य अवस्थामा पनि हर्न बजाएर ध्वनि प्रदूषण गर्ने गरेकाले यसलाई निषेध गर्न लागिएको हो।

नियम लागू भएपछि मान्छे बोलाउन अनावश्यक हर्न बजाउन पाइने छैन। तर घुम्ती, सवारी साधन ठोक्किनै लागेको अवस्थामा र यात्रु किचिने अवस्थामा भने हर्न बजाउन पाइनेछ।

नियम पालना नगरे पहिलो पटक रु ५००, त्यसपछि क्रमशः रु एक हजार र रु एक हजार ५०० सम्म जरिवाना गर्न सकिने ताप्लेजुङ ट्राफिक प्रहरी प्रमुख टंक न्यौपानेले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell