
काठमाडौं : मतदातापत्रकाे नामावलीमा नाम समावेश छ तर, परिचयपत्र छैन भने चिन्ता नगर्नुहोस्। तपाईले फोटोसहितको कुनै पनि सरकारी परिचयपत्र देखाएर मतदान गर्न सक्नुहुनेछ।
निर्वाचन आयोगले स्थानीय तहको तेस्रो चरणमा प्रदेश नम्बर २ मा सोमबार हुने निर्वाचनमा परिचयपत्र लिन नपाएकाले अन्य सरकारी कागजातलाई पनि मान्यता दिने व्यवस्था गरेको छ।
नागरिकताको प्रमाणपत्र, २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र, जग्गाधनी प्रमाणपत्र, कुनै पनि सरकारी कार्यालयबाट जारी फोटोसहितको कागजातको आधारमा मतदान गर्ने सक्नुहुनेछ।
मतदाता नामावली तथा मतदाता परिचयपत्रमा सामान्य त्रुटि पाइएमा स्थानीय तह निर्वाचन निर्देशिका, २०७३ को दफा ४८ बमोजिम सानोतिनो भूलचुक मानी नागरिकता प्रमाणपत्रको विवरणलाई मूल आधार लिई मतदान गर्न दिने व्यवस्था मिलाउन पनि आयोगले सम्बन्धित सबैलाई जानकारी गराएको छ।