PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

सुदूरपश्चिममा बूढी पोल्ने पर्व मनाइँदै



पहिलोपोस्ट

सुदूरपश्चिममा बूढी पोल्ने पर्व मनाइँदै

बैतडी : सुदूरपश्चिममा आज बूढी पोल्ने पर्व मनाइँदैछ। विजय उत्सवका रुपमा मनाइने यस पर्वमा बूढी अर्थात् राक्षसी पुतनालाई पोल्ने गरिन्छ।

पुराणअनुसार कृष्णले राक्षसी प्रवृत्तिकी पुतनालाई मारेपछि उनका साथी गोठालाले पुतनाको शव दहन गरेको कथन रहेको पं दयाकृष्ण पन्तले बताए। 

द्वापर युगमा विषाक्त दूध सेवन गराई बालबालिकाको ज्यान लिने गरेकी पुतनालाई कृष्णले दूध चुसी मारेको र कृष्ण बाँचेको खुसीयालीमा असोज संक्रान्तिका दिन यो पर्व मनाइने गरिएको भनाइ छ।

सुदूरपश्चिममा भाद्र संक्रान्तिका दिन गाडिएको सल्ला वा अन्य बोटबिरुवाको लिङ्गोमा आज साँझपख बूढी पोलिने र सोही ठाउँमा काँक्रा खाँदै लुतो बाँड्ने प्रचलन छ। 

ओल्के संक्रान्तिका दिन गोठालाले बूढीको प्रतिमा राखेर त्यसमा दैनिक रुखका हाँगा थप्ने गर्छन्। 

दैनिक थप्दा केही स्थानमा निकै ठूलो बूढी बन्ने गर्छ। गाई गोठालाले बाँझा जग्गा र दोबाटामा सल्ला, बाँज, खर्सुलगायत रुखबाट निर्मित बूढीको पुत्लालाई साँझपख जलाउने गर्छन्। 

दोबाटामा जलाइएको पुतनाको आकृतिबाट जलेको खरानीको तिलक गाईलाई लगाउने चलन पनि छ। यसो गरेमा पशु चौपायामा कुनै रोग नलाग्ने धार्मिक जनविश्वास छ। 

ओल्के संक्रान्तिका दिन गाउँ नजिकैका अलिक उँचो टाकुरामा सबै मिलेर रूखका हाँगाबिगा, झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ। 

सो थुप्रालाई स्थानीय भाषामा ‘बूढी हालेको’ भन्ने गरिएको छ। सो बूढीलाई नै आज असोज संक्रान्तिका दिन साँझ प्रत्येक घरघरबाट आगोको राँको एकै पटक निकाली एकैसाथ पोलेर ‘बूढी पोल्ने’ पर्व मनाउने परम्परा छ। 

पुतनाको स्वरुपमा तयार गरी सिंगारिएको बाबियोलाई आज बिहान गोठबाट निकालेर दिनभरी घाममा सुकाई साँझ दोबाटामा लगेर जलाउने गरिन्छ। 

ठालाहरुसाँझपख काँक्रो चपाएर जलेको पुतनामा फाल्दै जोडले ‘थुई बूढी थुई’ भन्ने गर्छन्। 

त्यस्तै बूढी पोलेर घर फर्किने क्रममा बाटा बाटामा बलेको दियो पनि गाड्दै जाने प्रचलन छ। यस पर्वमा रातभरी डेउडा, भुवा जस्ता साँस्कृतिक कार्यक्रम गरिने चलन पनि छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell