PahiloPost

Feb 1, 2025 | १९ माघ २०८१

५ वर्ष : १०१ प्रहरीको अकालमै मृत्यु



सविन ढकाल

५ वर्ष : १०१ प्रहरीको अकालमै मृत्यु

काठमाडौं : कैलाली र कञ्चनपुर सहितको बेग्लै थरुहट/थारुवान प्रदेशको माग गर्दै २०७२ साल भदौमा आन्दोलनमा उत्रेका कैलालीका थरुहट समर्थक प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा प्रहरी बरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने सहित नेपाल प्रहरीका ७ सुरक्षाकर्मीले ज्यान गुमाए। ५ वर्ष भित्र आन्दोलनमा मृत्यु हुने हाइ प्रोफाइल प्रहरी न्यौपाने नै हुन्। 

गत साउन १३ गते उत्तरी धादिङको खनियाबास गाउँपालिकास्थित दार्खा प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक वीरबहादुर गुरुङ मृत अवस्थामा फेला परे। प्रहरी चौकीबाट करिब १ सय मिटरको दुरीमा गुरुङको  हत्या गरिएको अवस्थामा शव भेटिएको थियो। खुट्टा तथा शरीरका विभिन्न भागमा चोटपटक देखिएको स्थानीयले बताए। 

घटना भएको केही दिनमा नै प्रहरीले तारा थापा मगरलाई प्रहरीले हत्या आरोपमा पक्राउ गर्योर। हत्या आरोप लागेका थापा मगरका पति सुशील गुरुङ अझै फरार छन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

गत जेठको दोस्रो सातामा पनि ड्युटीमा खटिएका दुई प्रहरीको मृत्यु भयो। नारायणगढ मुग्लिन सडकको कालिखोलामा गएको पहिरोमा सहायक निरीक्षक निश्चल तामाङ र प्रहरी जवान दीपक कुमार मास्केको शव भेटिएको पनि दुई प्रहरी बेपत्ता भए। 

कार्यक्षेत्रमा खटिएका प्रहरीमध्ये हरेक ३० दिनमा दुई जनाको मृत्य हुने गरेको तथ्याङ्कले देखाउँछ। ५ वर्षको अन्तरालमा १ सय १ जना प्रहरीको अकालमा मै ज्यान गुमेको छ। 

मृत्यु हुनेहरुमा सबैभन्दा बढी प्रहरी जवान रहेका छन्। ५५ जना प्रहरी जवानको यस्तै घटनामा परी मृत्यु भएको छ। आन्दोलनदेखि उद्धारको क्रममा फ्रन्ट लाइनमा रहेर खटिने र संगठनमा उनीहरुको सङख्या धेरै भएकाले मर्नेहरुमा जवानको सङख्या बढी हुने गरेको प्रहरी प्रवक्ता डिआइजी मनोज न्यौपाने बताउँछन्। डिआइजी न्यौपाने भन्छन्, 'संगठनमा ६० प्रतिशत जवानको सङ्ख्या छ। त्यसैले पनि यो अनुपात बढी देखिएको हो।' 

५ वर्षभित्र १ जना डिएसपी, २ जना इन्स्पेक्टर, ३ जना सई, १३ जना असई, २३ जना प्रहरी हवल्दारको असामयिक मृत्यु भएको हो। 

२०७२ साल भदौमा कैलालीमा भएको आन्दोलनकारीको झडपमा परी एकै ठाउँमा ७ जना प्रहरीको मृत्यु भयो। विभिन्न अधिकारका नाममा हुने आन्दोलनमा पनि प्रहरी आन्दोलनकारीको निशानामा पर्दै आएका छन्। सडक दुर्घटना सगै सवैभन्दाबढी आन्दोलनमा नै प्रहरीको मृत्यु हुने गरेको नेपाल प्रहरीका एक अधिकृत बताउँछन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell