PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

ढोरपाटनमा शिकारको याम सुरु, १० नाउर र ६ झारलको शिकार अनुमति



पहिलोपोस्ट

ढोरपाटनमा शिकारको याम सुरु, १० नाउर र ६ झारलको शिकार अनुमति

बागलुङः ढोरपाटन शिकार आरक्षमा यो वर्षको पहिलो शिकार याम असोज र मंसिर महिनामा १० नाउर र ६ झारलको शिकार गरिने भएको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले शिकारको लागि नाउर र झारलको कोटा छुट्टाएको हो। 

विभागले प्रतिस्पर्धाका आधारमा छानिएका संस्थालाई शिकार अनुमति दिने गरेको छ। छनोटमा पर्ने संस्थाले विदेशी शिकारीलाई असोज दोस्रो सातादेखि शिकार खेलाउने कार्यालयका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए। 

‘वर्षेनी शिकारबापत तिनुपर्ने राजश्व घटबढ भइरहन्छ’ उनले भने,‘शिकार खेलाउने संस्थाबीच जति प्रतिस्पर्धा चल्यो, त्यति दर बढ्छ।’

अघिल्लो शिकार याम फागुन र वैशाखमा शिकार गर्न लगाउने संस्थाले हालसम्मकै उच्च एउटा झारल शिकारको १३ लाख पाँच हजार र नाउर शिकारबापत आठ लाख ७५ हजार तिरेको थियो। 

साढे दुई वर्षअघि पनि झारल शिकारको दर बढेर ९ लाख ३१ हजार रूपैयाँसम्म पुगेको थियो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले तोक्ने कोटा र मागबीचको अन्तरले पनि दर घटबढ हुने गरेको छ। 

अमेरिका, जर्मनी, स्पेन, नर्वे, क्यानडा, दक्षिण अमेरिकालगायतका मुलुकबाट शिकारी ढोरपाटन पुग्ने गर्छन्। सबैजसो शिकारी हेलिकप्टरमार्फत् नै ढोरपाटन पुग्ने गरेको अधिकृत बरालले बताए । 

आरक्षको फागुने, वार्षे, सेङ, दोगाडी, घुस्तुङ र सुनदह ‘ब्लग’ गरी ६ ब्लगमा शिकार खेल्ने गरिएको छ। सुनदह ‘ब्लग’मा भने धेरै कम मात्रामा शिकारी पुग्ने गरेका छन्। 

अत्यन्तै विकट क्षेत्रमा रहेको र बढी खर्चिलो हुने हुँदा शिकारीको कम रोजाइमा सुनदह ‘ब्लग’ पर्ने गरेको छ। शिकारबाट आरक्ष कार्यालयले वर्षेनी करिब एक करोड राजश्व उठाउने गरेको छ। 

एउटा शिकारीले वन्यजन्तुको शिकारमा २५ लाखदेखि ३० लाखसम्म खर्च गर्ने गरेको पाइन्छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell