PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

रोहिङ्गाकाबारेमा एकजुट हुन म्यान्माली सैनिक प्रमुखको आग्रह, ज्यादति नगरेकाे स्पष्टोक्ति



पहिलोपोस्ट

रोहिङ्गाकाबारेमा एकजुट हुन म्यान्माली सैनिक प्रमुखको आग्रह, ज्यादति नगरेकाे स्पष्टोक्ति

यांगुनः म्यानमारका सैनिक प्रमुखले हालैका दिनमा देश छोडेर भागेको यहाँको मुस्लिम समुदाय, रोहिङ्गाका बारेमा राष्ट्रिय रुपमा एकजुट हुन आग्रह गरेका छन्। 

रोहिङ्गाहरुमाथि सैनिकले ज्यादती गरेको भन्ने आरोप लागेको छ। आरोपपछि पहिलो पटक म्यानमारका सेनाको यो प्रतिक्रिया आएको हो। 

सैनिक प्रमुखले भनेका छन्– म्यानमारको सेनाले रोहिङ्गा जातिका नागरिकमाथि ज्यादती गरेको र जसका कारण उनीहरु भाग्नु परेको भन्ने आरोप आएकोले यस विषयमा हामी स्पष्ट हुन चाहन्छौँ। 

उनले यस्तो ज्यादती नभएको पनि स्पष्ट पारेका छन्। उनले भनेका छन्– २५ अगष्टमा रोहिङ्गा जातिको विद्रोही लडाकूहरुले म्यानमारका दर्जनौँ प्रहरी चौकीमा सशस्त्र हमला गरेकाले सेनाले ती आक्रमणकारीमाथि कारबाही मात्र सुरु गरेको हो। 

म्यानमारको सेनाले उनीहरुमाथि हिंसात्मक आक्रमण गरेको र यसका कारण उनीहरु देश छोडेर भाग्नु परेको भनाई यसअघिदेखि जातिका साथै विदेशी समुदायले पनि राख्दै आएको छ। 

राखिन राज्यमा रोहिङ्गा मुस्लिम समुदायमाथि सुरक्षाकर्मीबाटै आक्रमणका कारण करिब ३० हजार व्यक्ति राखिन राज्यभित्रै तथा अरु लाखौँजना विदेशमा विस्थापित भएका छन्। 

म्यानमारका सैनिक प्रमुख मिन आङ हालिङले आफ्नो फेसबुक पेजमा भनेका छन्– उनीहरुमाथि कुनै ज्यादती भएको छैन, प्रहरी चौकीमाथि हमला भएपछि म्यानमारको सेनाले आफ्नो काम गरेको मात्र हो। 

गएको अगष्ट २५ तारिखदेखि रोहिङ्गा मुस्लिम समुदायको विद्रोही समूह र म्यानमारको सेनाबीचमा भिडन्त सुरु भएको थियो। 
जसका कारण अन्तर्राष्ट्रिय समुदायमा पनि म्यानमारको धेरै आलोचना भएको छ। 

अहिलेसम्म यहाँबाट भागेर बङ्गलादेशसम्म पुग्ने नागरिकको सङ्ख्या कम्तीमा पनि चार लाख पुगेको छ। उनीहरुलाई त्यहाँ पनि खान र बस्नका लागि आधारभूत आवश्यकता समेतको व्यबस्था नरहेको बताइन्छ। 

म्यानमार र बङ्गलादेशको सीमा क्षेत्रमा रहेको नाफ नदी तरेर उनीहरु बङ्गलादेशसम्म पुगेका छन्। उनीहरु यसरी जोखिमपूर्ण रुपमा नदी पारगर्ने क्रममा ज्यान पनि जाने गरेको छ । 

त्यस समयदेखि आजसम्ममा ती समुदायका कम्तीमा पनि १०० जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन्। रासस/एएफपी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell