PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

'वीपीको आदर्श जोगाउन नसक्दा कांग्रेस क्षयको बाटोमा'



रमेश वाग्ले

'वीपीको आदर्श जोगाउन नसक्दा कांग्रेस क्षयको बाटोमा'

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले वीपीको आदर्श जोगाउन नसक्दा कांग्रेसको क्षयीकरण हुँदै गएको बताएका छन्। 

'लोकतन्त्रर तथा अनुसन्धान मञ्च'ले दुई चरणका स्थानीय तह निर्वाचनमा कांग्रेस दोस्रो हुनका कारणबारे तयार पारेको प्रतिवेदन सार्वजनक समारोहमा कोइरालले पार्टी आदर्शभन्दा पनि अवसरमा केन्द्रित हुँदा छवि बिग्रिएको स्वीकार गरे। 

'बिपीको आदर्श जोगाउन नसक्दा कांग्रेसमा क्षयीकरण हुँदै गएको कुरा सत्य हो,' महान्त्री कोइरालले भने, 'अबको निर्वाचन घोषणापत्र र कांग्रेसले बनाउने बजेटमा कडाइका साथ वीपीले भनेका आदर्श अनुरुप सामाजिक सुरक्षाका विषय समेटिन्छन्।' उनले प्रतिवेदनका सुझावलाई पार्टीले ग्रहण गर्ने बताए।

कांग्रेस केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले कांग्रेसले सिद्धान्त र विचारभन्दा पनि अवसरको प्राप्तिमा लाग्दा जनविश्वास घटेको बताए। 'नेतृत्वले पार्टीको सिद्धान्त आदर्श र प्रतिष्ठा जोगाउनेभन्दा पनि अवसरलाई कसरी उपयोग गर्ने भन्ने सोचिदिँदा आज पार्टीमा क्षयीकरण मात्र हैन गम्भीर निराशा देखिएको छ,' श्रेष्ठले भने, 'पार्टी जोगाउनका लागि राजनीतिक आदर्श अनुरुप हामीले हिँड्नै पर्छ।' उनले महामन्त्री शशांकसँग आफ्नोमात्र नभएर देशभरका कांग्रेसको अपेक्षा रहेको भन्दै पार्टीको आदर्श र संगठन निर्माणमा उहाँ नै अघि बढ्नुपर्ने बताए। 

'वीपीसँग बसेर उहाँले नेपालको राजनीति बुझ्नुभएको छ। नेपालको भूगोल र जनसंख्याबारे पनि गम्भीर अध्ययन गर्न सक्ने बौद्धिक व्यक्तित्व हुनुहुन्छ महामन्त्रीजी,' श्रेष्ठले भने, 'उहाँ भोलि देखि नै पार्टी अफिसमा बसेर देशभरका कांग्रससँग समन्वय गर्दै संगठन परिचालनमा लागे भोलिदेखि नै नयाँ लहर सृजना हुनसक्छ।' उनले महान्त्रीलाई अप्रत्यक्षरुपमा अहिलेसम्म काम नगरेकै कारण समस्या भएको समेत बताए।

महेन्द्र संस्कृत विश्वविद्यालयका उपकूलपति डाक्टर कुलप्रसाद कोइरालले कांग्रेसको नेतृत्वले नीतिबाट भन्दा पनि नेतृत्वको इच्छाबाट संगठन चलाउँदा कांग्रेसले गम्भीर परिणाम भोगेको बताए। 'केन्द्रीय समितिले दिएको टिकट खोसिएको छ, कार्यकर्ताको मुल्याङ्कन गर्ने प्रणाली नै छैन,' कोइरालाले भने, 'त्यसका कारण कांग्रेसको सिद्धान्त र आदर्शप्रति गर्व गरेर कांग्रेसमा लागेका कार्यकर्ता निराशामा देखिन्छन्।'
नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर जीवराज कोइरालाले कांग्रेस नीति सिद्धान्त र विचारमा अघि नबढ्दा त्यसको प्रभाव निर्वाचनमा देखिएको बताए। 

प्राध्यापक अकलदेव मिश्रले कांग्रेसमा मुल्यांकन प्रणाली नै नहुने तथा टिकट दिँदा स्थानीय लोकप्रियता, क्षमता र योग्यतालाई आधार नबनाइ नेतासँगको निकटतालाई मात्र योग्यता बनाइनु पनि निर्वाचनमा पराजयको कारण बनेको बताए। उनले स्थानीय जनताका समस्यामा जुधेका र दुःख सुखमा साथ रहेका कार्यकर्तालाई चुनाव नलडाएर केन्द्रमा नेताका वरीरपरि घुम्नेलाई टिकट दिँदा प्राविधिक रुपमा धेरै  ठाउँमा कांग्रेसले पराजय भोगेको बताए।

कार्यक्रममा उपप्राध्यापक उद्धव सिग्देलले स्थानीय तह निर्वाचनको परिणामलाई विभिन्न पक्षको अध्ययन गरी तयार पारेको अनुसन्धान प्रतिवेदन प्रस्तुत गरेका थिए। उनले प्रस्तुत गरेको प्रतिवेदनमा कांग्रेसले गल्ती गरेका कारण एमालेले ५३ प्रतिशत ठाउँमा ५ सयभन्दा कम मतान्तरले जितेको उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell