PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

मौसमले पनि दियो साथ, प्रदेश २ मा मतदातामा उत्साह तर अन्यौल पनि



उमेश श्रेष्ठ

मौसमले पनि दियो साथ, प्रदेश २ मा मतदातामा उत्साह तर अन्यौल पनि

जनकपुरधाम :  चुनावी गर्मी मात्र हैन मौसमको समेत गर्मीलाई गएरातिको वर्षाले शितल बनाइदिएसँगै मध्याह्नसम्म पनि घाम नचर्किएपछि मतदातालाई राहत पुगेको छ। 

बिहान सबेरैदेखि विभिन्न मतदान केन्द्रमा मतदाताहरु उत्साहपूर्वक लाइन बसिरहेका देखिन्थे।

पूर्व गृहमन्त्रीले लाइन लागेर मतदान गरे

नगराइन नगरपालिकास्थित आफ्नो पुरानो घरबाट पूर्व गृहमन्त्री विमलेन्द्र निधि स्कर्टिङसहित निस्के। केही मिनेटको दूरीमा रहेको राजेश्वर निधि उच्च माविमा रहेको मतदान केन्द्रमा पुगे। नेपाली कांग्रेसका प्रभावशाली नेता निधिभन्दा अघि नै मतदाताहरु लाइनमा थिए।सुरक्षाकर्मीहरुले उनलाई अगाडि लैजान खोजे पनि निधिले 'हैन, पालैपालो गरौँ न' भन्दै झण्डै तीन/चार मिनेट लाइनमा कुरे। 

यो बीचमा ब्रोडसिट दैनिकभन्दा लामो मतपत्रलाई हेर्दै उनी सुरक्षाकर्मीहरुसित केही बेर गफिए। अगाडिका मतदाताहरुले मतदान गरेपछि  उनको पालो आयो। छाप लगाउन उनलाई धेरै समय लागेन। तर मतपत्र पट्याउन भने केही समय लाग्यो। उनी केही छिन अलमलिए। 
त्यसपछि मतपेटिकामा मतपत्र राख्दै मिडियाको क्यामेराअगाडि भने, 'ल मैले हालेँ है।' 

धेरै वर्षपछि स्थानीय चुनावमा मतदान गर्न पाएकोले आफू पनि खुसी भएको र सारा मधेसी जनता पनि खुसी भएको प्रतिक्रिया दिए। 
मतदानपछि पनि उनी केही समय मतदान केन्द्र बाहिर बसेर त्यहाँको स्थिति स्थानीय कार्यकर्ताहरुबाट बुझे।

नगराइनमा गएराति कांग्रेस र एमाले कार्यकर्ता बीच झडप भएको थियो। चुनावको अघिल्लो रात पासा पल्टाउने रातको रुपमा चर्चित छ। त्यसैले यो रात पैसा बाँड्ने काम पनि धेरै हुन्छ। कांग्रेस र एमाले दुवैले एकअर्कालाई पैसा बाँडिरहेका बेला रोक्न खोज्दा आक्रमण गरेको आरोप लगाएका छन्। 

उम्मेदवारहरुको समेत गुनासो छ- निर्वाचन आयोग निर्वाचन गराउनतर्फ मात्र लाग्यो, आचार संहिता पालनामा ध्यान दिएन। त्यसो त पहिलो चरणको चुनावमा नै प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले पत्रकारलाई प्रश्न तेर्स्याएका थिए- आचार संहिता भनेको शतप्रतिशत कतै पालना हुन्न। तपाईँले गर्नुभएको छ?

जनकपुरमा साहहरुबीच प्रतिस्पर्धा

जनकपुरको स्थानीय निर्वाचनको इतिहासमा अहिलेसम्म कुनै दलले मेयर जितेको छैन। यस पटक भने कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालको यहाँ चर्को प्रतिस्पर्धा छ। 

जनकपुरमा तीन जाति तेली, सुडी र कलवार जातिको पकड रहेको छ। त्यसमध्ये प्रमुख दल सबैका मेयर उम्मेदवार तेली जातिका साहहरु छन्। 
जनकपुर उपमहानगरपालिकाको मेयरमा कांग्रेसका मनोज साहदेखि एमालेका लक्ष्मी नारायण भगत साह र माओवादीका चन्द्रशेखर साह, राजपाका लालकिशोर साह छन्। समाजवादी फोरमका विष्णुदेव साह, फोरम लोकतान्त्रिकका हंसराज साह मात्र हैन, राप्रपाका राजकुमारी साह, राप्रपा (प्रजातान्त्रिक) का रुपा साह र नयाँ शक्ति पार्टीका उमेश साह पनि मेयर पदका उम्मेदवार छन्। 

मतदाताहरु अन्यौलमा

स्थानीय तहका निर्वाचनमा मतदाता शिक्षाको भने कमि देखियो। पहिलो राष्ट्रपति डा. रामवरण यादवको गाउँ सपहीस्थित मतदान केन्द्रमा भोट हाल्न आएकी एक महिला सघाउन नजिकैका सुरक्षाकर्मीलाई बोलाउँदै थिइन्।

'हैन, हामीले हेर्न मिल्दैन। आफैले हाल्ने हो,' शायद हामी मिडिया अगाडि रहेकोले सुरक्षाकर्मी नकार्दै थिए। अरु कसैलाई सहयोग गर्न बोलाए हुन्छ भन्दै थिए। 

पर्यवेक्षणमा रहेका दलका प्रतिनिधि भन्दै थिए- मतदाता शिक्षाको कमि देखियो। लामो मतपत्र हुनाले मतपत्र मतदातालाई दिँदा च्यातिन सक्ने, मत हाल्दा समय लाग्ने भइरहेको छ। 

एक जनालाई मत हाल्न ५ देखि ७ मिनेट लाग्ने गरेको देखिएको छ।    

आजैदेखि मतगणना

मतदान सकिएपछि सबै मतदान केन्द्रहरुबाट मतपेटिका मतगणनास्थलमा ल्याइसकेपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु हुनेछ। वीरगंज महानगरपालिका र जनकपुर उपमहानगरपालिका जस्ता ठाउँहरुमा धेरै मतदाता रहेकोले मतगणना लम्बिन सक्छ। मतगणना लम्बिए दशैँ पनि चुनावी रमझममै बित्ने देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell