
चितवनः नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी (माओवादी)का अध्यक्ष मोहन वैद्यले माओवादी केन्द्रसँग पार्टी एकताको सम्भावना नरहेको बताएका छन्।
चितवनको भरतपुरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष वैद्यले नेकपा मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाटो बिराएकाले पार्टी एकता सम्भव नरहेको बताए।
नयाँ जनवादी क्रान्तिको बाटो छोडेर लोकतान्त्रिक पद्धति, १२ बुँदे सहमति, जनमुक्ति सेनालाई नेपाली सेनामा समायोजनको समयसम्म आइपुग्दा प्रचण्डले बाटो बिराएको वैद्यको भनाइ थियो।
बहुलवादलाई स्वीकार गरेर जाने कम्युनिष्ट नभएको भन्दै वैद्यले माओवादी केन्द्रले कम्युनिष्ट सिद्धान्त छाडिसकेको आरोप लगाए।
उनले भने,‘माओवादी केन्द्र अब नामधारीको कम्युनिष्ट मात्रै हो।’ प्रचण्ड पश्चगामी दिशामा बताए। उनले कम्युनिष्ट एक भएर जानुपर्ने भन्दै उनले अहिलेको संविधान नमान्ने र सरकारमा नजाने बीचमा एकता हुनसक्ने बताए।
जसका लागि बिप्लव र मोहनबिक्रमसँग कुराकानी भइरहेको उनले बताए। नयाँ जनवादी क्रान्ति सम्पन्न भइनसकेको भन्दै वैद्यले यसलाई सम्पन्न गर्न पोखरामा असोज २१ र २२ गते हुने राष्ट्रिय सम्मेलनले कार्यदिशा तय गर्ने जानकारी दिए।
आफूहरु शान्तिपूर्ण आन्दोलनको पक्षमा रहेको भन्दै वैद्यले सरकारको रबैयाले भावी बाटो कस्तो हुन्छ भन्ने कुरा निर्धारण हुने बताए।रासस