काठमाडौं: डाक्टर भोला रिजालको नयाँ गीत सार्वजनिक भएको छ। रिजालको शब्द तथा गायक रामकृष्ण ढकालको स्वर रहेको 'सम्बन्ध यो कस्तो' बोलको गीत भिडियो सहित आइतबार सार्वजनिक भएको हो।
दन्त चिकित्सक कपिल रिजालले भिडियोको निर्देशन गरेका हुन्। डाक्टर कपिल गीतकार भोला रिजालका छोरा हुन्। उनले बुबाकै प्रेरणाले संगीत निकट रहेको बताए। ‘बुबाको संगतकै कारण गीतसंगीतमा सानैदेखि रुची थियो। कामको सिलसिलामा लन्डनमा बसे पनि नेपाली गीत, संगीत र फिल्म प्रति रुची उस्तै छ।' दुई वर्षअघि रिलिज भुवन केसी निर्देशित फिल्म ‘ड्रिम्स’को निर्मातासमेत रहेका उनले आधा दर्जन बढी म्युजिक भिडियो भन्दा यो भिडियो निर्देशन गरेका छन्।
भिडियोमा अभिनेता सरोज खनाल हजुरबुवा, जीवन भट्टराई छोरा, सुरबिना कार्की बुहारी र बाल कलाकार कुसाग्र भट्टराईले नातिको भूमिकामा अभिनय गरेका छन्। शिखर सन्तोषको संगीतमा रामकृष्ण ढकालले स्वर दिएको गीतको भिडियोमा टेकेन्द्र शाहको सम्पादन र सुदिप बरालको छायांकन छ।