
काठमाडौं : स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आज प्रदेश नं. २ का आठ जिल्लाका १३६ वटा स्थानीय तहमा मध्यान्ह १२ बजेसम्म करिव ३५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन आयोगले संयुक्त निर्वाचन परिचालन केन्द्र (जे.इ.ओ.सी.)बाट प्राप्त पछिल्लो जानकारी अनुसार, सबै मतदान केन्द्रहरुमा मतदाताहरू ठूलो संख्यामा लामबद्ध भई शान्तिपूर्ण एवं उत्साहजनरूपमा मतदान कार्यमा सहभागी भइरहेको जनाएको हो।
मतदान कार्य आज अपरान्ह ५ बजेसम्म जारी रहने छ। प्रदेश नं. दुईका १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तह छन्।
आज भएको यस निर्वाचनबाट नगरपालिका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य गरी ६ हजार ६२७ जना प्रतिनिधिहरू निर्वाचित हुने छन्।
त्यसका लागि ३७ हजार २ सय ३६ उम्मेदवार प्रतिस्पर्धामा छन्।