काठमाडौं: निर्माण घोषणा भएको ९ वर्षपछि फिल्म ‘सूर्योदय’को छायांकन सुरु भएको छ। २०६५ सालमा फिल्म बनाउने बारे 'द स्काई मुभिज’का तर्फबाट फिल्म निर्देशक आकाश अधिकारीले जानकारी दिएको थियो। तर फिल्म छायांकनका लागि फ्लोरमा निस्कन सकेको थिएन।
‘घरको जेठो दाईले विहे गरेको युवतीलाई बाँकी भाईहरुले आफ्नै पत्नी मान्नु पर्ने’ बहुपती प्रथाको कथामा फिल्म बन्ने बताइएको थियो। उक्त विषयमाथिको खोज र अनुसन्धानका कारण समय लागेको फिल्म निर्माण युनिटले जनाएको छ। 'गम्भिर विषयको सतही कथा पस्कनु ठिक हुँदैन त्यसैले चुनिएको विषयमा अनुसन्धान गर्दा लामो समय लागेको हो', निर्देशक अधिकारीले भने।‘
उत्तर पूर्वी डोल्पा र उत्तर पश्चिम मनाङ, मुस्ताङमा व्याप्त रहेको ‘बहुपती’ प्रथा निर्माणको लागि नेपालमा पहिलो पटक रेड क्यामरा भित्र्याइएको थियो। ‘हामीले यस विषयबस्तुमा सिमित लगानीमा डकुमेन्ट्री बनाएको भए, उहिले तयार गरिसक्थ्यौ। तर, लोप हुँदै गैरहेको ‘बहुपती’ प्रथालाई फिचर सिनेमा मार्फत विश्वव्यापी रुपमा चिनाउन लामो समय लगाएका हौं। ८ देखि १० करोड बजेटमा ‘सुर्योदय’ निर्माण हुने अधिकारीको दाबी छ। फिल्म निर्माणमा ‘द स्काई मुभिज’सँग स्वदेशी तथा विदेशी संघसंस्थाले सहकार्य गर्नेछन्। साथै, स्वदेश र विदेशका संघसंस्थाले यसको ‘कपीराइट’ प्रतिलिपी अधिकार सुरक्षित गरिसकेका छन्।
२०१८ बाट ‘सुर्योदय’ निर्माणको थालनी हुने बताइएको छ।