टोकियोः प्रधानन्यायाधीश गोपाल पराजुली जापान आएका छन्। एसिया प्रशान्त क्षेत्रका प्रधानन्यायाधीशहरुको सम्मेलनमा भाग लिन प्रधानन्यायाधीश पराजुली जापान आएका हुन्।
प्रधानन्यायाधीशहरुको १७ औँ सम्मेलनमा भाग लिन प्रधानन्यायाधीश पराजुलीसहित मुख्य रजिष्टार नहकुल सुवेदी, भक्तपुर जिल्ला अदालतका न्यायाधीश विदुर कोइराला, डेपुटी रजिष्ट«ार रामप्रसाद पौडेल पनि जापान आएका छन्।
आजदेखि सुरु भई चार दिनसम्म जारी रहने सम्मेलनमा न्यायपालिकाको कार्यलाई सुदृढ बनाउने, जनविश्वास अभिवृद्धिका लागि अन्य देशमा भइरहेको प्रयास र अदालतको जनशक्ति सुधारमा हुनसक्ने प्रयासबारे छलफल हुनेछ।
त्यस्तै, सम्मेलनमा अदालतको दक्षता अभिवृद्धि र पछिल्लो समयमा बढ्दै गएको पारिवारिक न्यायका विषयमा अदालतको भूमिका र नेपालले गरिरहेको पहल तथा छिमेकीमूलुक भारत, चीन र जापानलगायतका विकसित देशले भावी न्यायालयमा अवलम्बन गर्ने व्यवस्था, प्रधानन्यायाधीशको भूमिकासहित पारिवारिक न्यायलयका बारेमा छलफल हुनेछ।
पराजुलीसहितका चारजनालाई आज बिहान जापानस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले स्वागत गरेका थिए।रासस