काठमाडौं : प्रदेश नम्बर २ मा हुने निर्वाचनलाई धेरैले सुरक्षाको दृष्टिकोणले निकै चुनौतीपूर्ण रुपमा लिएका थिए। तर परिणाम ठीक विपरित निस्कियो। तीन चरणका निर्वाचनमध्ये सबैभन्दा शान्तिपूर्ण भयो प्रदेश नम्बर २ कै निर्वाचन।
पहिलो निर्वाचनमा दोलखा, कालिकोट र काभ्रेको नमबुद्धमा लगायतका स्थानमा त्रासमय निर्वाचन भयो। निर्वाचन शुरु हुनुभन्दा केही दिन अगाडि देखिनै दोलखामा राजनितिक दलहरु बीच देखिएको विवादले २ जनाको ज्यान नै लियो। मुलुङ गाउँपालिका पवटी १ स्थित सत्यश्वर मावि मतदान केन्द्रमा मतदातालाई हटाउने क्रममा विवाद बढेपछि प्रहरीले गोली नै चलाउनु परेको थियो। गोली लागेर लागेर दुईको मृत्यु भएको थियो।
कालिकोटको नरहरिनाथ गाउँपालिकास्थित नन्दादेवी माविको मतपेटिका जलाउन पुगेका नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा एक जनाको मृत्यु भएको थियो। काभ्रे नमोबुद्धमा पनि निर्वाचनको विवादमा एक जनाले ज्यान गुमाए।
पहिलो चरणको निर्वाचनमा उम्मेद्वारको अपहरण, प्रचार प्रसारमा झडप, विस्फोटन जस्ता घटना भइ नै रहे। दोस्रो चरणको निर्वाचनमा यस्ता घटना कमै मात्रामा सुनिए। भारतसँगको खुल्ला सीमाना, तराईमा सक्रिय भूमिगत समूह र राजपाको निर्वाचन विरोधी गतिविधिका बाबजुद निर्वाचन शान्तिपूर्ण रुपमा नै सम्पन्न भयो। बझाङको चैनपुर नगरपालिकाको पडेंसस्थित मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप, दाङको तुलसीपुर ३ अम्बास मतदान केन्द्रको बुथमा बम प्रहार भए पनि प्रहरी हवल्दा दुर्गाबहादुर रानाले हातले समातेर फ्याँकेका थिए। महेन्द्रनगरको स्थानीय खुलामञ्चको शौचालयमा अज्ञात समूहले बम बिस्फोट गराएको थियो भने इलाम नगरपालिका–७ स्थित आदर्श आधारभूत विद्यालयको मतदान केन्द्रमा विष्फोटक पदार्थ भेटिएको थियो। यस्ता घटना बाहेक दोस्रो चरणमा कुनै मानवीय क्षति हुन पाएन।
प्रदेश नम्बर ३ मा सोमवार सम्पन्न निर्वाचन सबैभन्दा शान्तिपूर्ण रुपमा सम्पन्न भयो। राजनीतिक दलहरुको प्रतिवद्धता र जनताको निर्वाचनमा उत्साहजनक उपस्थितिले नै निर्वाचन शान्तिपूर्ण भएको जानकारहरु बताउँछन्। सुरक्षाविद् गेजा शर्मा वाग्ले भन्छन्, 'दुई नम्बर प्रदेशमा सोचेको भन्दा ठीक विपरित परिणाम आयो। तीनवटा निर्वाचनमध्ये सबैभन्दा शान्त निर्वाचन दुई नम्बरमा नै भयो।'
सोमवार रौतहटमा माओवादी र फोरम बीच झडप हुँदा प्रहरीले दुई राउण्ड हवाइ फायर गरेको थियो। त्यस्तै केही स्थानमा फाटफुट बिस्फोटक पदार्थ भेटिए पनि सुरक्षाकर्मीले निस्क्रिय पारे। नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले सोमवार कुनै मानवीय क्षति नभइ निर्वाचन सम्पन्न भएको बताए।
गृह मन्त्रालयका सहसचिव रामकृष्ण पौडेलको मूल्याङ्कनमा पनि निर्वाचन शान्तिपूर्ण भयो। उनले भने, 'केही स्थानमा बाहेक अधिकांश ठाउँमा शान्तिपूर्ण निर्वाचन भएको हो।' घटनाको सङ्ख्या पनि दुई चरणको निर्वाचनभन्दा कम रहेको छ। सोमवार सम्पन्न निर्वाचनमा ६० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो।