
काठमाडौँ: प्रदेश नम्बर दुईका आठ जिल्लाका १३६ वटा स्थानीय तहका लागि सोमबार भएको मतदानपछि सोमबार रातिदेखि नै मतगाणना सुरु भएको छ। निर्वाचन आयोगका अनुसार १३६ मध्ये ८९ स्थानमा मतगणना भइरहेको छ। बाँकी स्थानीय तहको मतगणना कार्य पनि सुरु गर्ने तयारी भइरहेको आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) ले जनाएको छ।
राजविराज नगरपालिका १५ मा राष्ट्रिय जनता पार्टीका वडाध्यक्षका उम्मेदवारको निधन भएकाले उक्त वडामा असोज ५ गते मतदान भएपछि मात्रै राजविराज नगरपालिकाको मतगणना कार्य सुरु हुनेछ।
प्रारम्भिक मतपरिणाम अनुसार पहिलो र दोस्रो चरणको स्थानीय तहमा पहिलो बनेको एमाले प्रदेश २ मा कमजोर देखिएको छ।
तेस्रो चरणको निर्वाचनको एकमात्र महानगरपालिका वीरगञ्ज महानगरको मतगणना सुरु भएको छैन। पर्साका अन्य स्थानीय तहमा भने मतगणना भइरहेको छ।
बारा, धनुषा, सिरहा, महोत्तरी लगायतका जिल्लाका अधिकांश स्थानीय तहको मतगणना सुरु भइसकेको छ।
प्रदेश २ को ८ जिल्लाका १३६ स्थानीय तहमा सोमबार निर्वाचन भएको हो।