धनगढीः औलो रोग रोकथाममा विभिन्न प्रयास भए पनि कैलाली जिल्लामा औलो रोगी फेला पर्ने दर भने अझै घटेको छैन।
औलो रोगको जोखिम रहेको कैलाली जिल्लामा पछिल्लो एक वर्षमा १९९ जनामा औलोको जीवाणु फेला परेको छ।
शंकास्पद रोगीको रगत परीक्षण गर्दा यी व्यक्तिमा औलोको जीवाणु फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय औलो शाखा प्रमुख उदयशंकर साहले जानकारी दिए। औलोको जीवाणु फेला पर्नेमध्ये अधिकांश भारतमा काम गरेर फर्किने नेपाली रहेका छन्।
शाखा प्रमुख साहले कामको खोजीमा भारत गएर फर्किनेहरूमा यो रोगको संक्रमण बढी देखिने गरेकाले रोकथाममा समस्या भएको बताए। यसबाहेक जनचेतनाको अभावका कारण पनि रोकथाममा समस्या भइरहेको छ।
कैलाली जिल्लाको धनगढी उपमहानगरसहित साविकको मालाखेती, गोदावरी, चौमाला, जोशीपुरलगायत गाविस औलोको उच्च जोखिमा रहेको जनाइएको छ।
जनस्वास्थ्य कार्यालयको तथ्यांकमा कैलालीमा आर्थिक वर्ष २०७०/७१मा १७९ जनामा औलोका जीवाणु फेला परेकामा आर्थिक वर्ष २०७१/७२मा यो दर बढेर २५५ जनामा जीवाणु फेला परेको उल्लेख छ। गतवर्ष २०७२/७३मा कैलालीमा १९५ जनामा औलोको जीवाणु फेला परेको थियो ।
‘नेपालमा सबैभन्दा बढी औलो जोखिमको जिल्लाका रुपमा कञ्चनपुर र कैलाली रहेका छन्’, शाखा प्रमुख साहले भने,‘नेपालका कूल औलो रोगीमध्ये कैलालीमा ३० प्रतिशत र कञ्चनपुरमा ४० प्रतिशत औलो रोगी भेटिने गरेको तथ्यांक छ।’
संक्रमित ‘एनोफिलिज’ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने यो रोग वयस्क उमेरका व्यक्तिमा बढी देखिने गरेको छ।
यो रोगमा चिसो महसुस हुने, टाउको दुख्ने, ज्वरो आउने, पसिना आउनेजस्ता लक्ष्यण देखिने र लामो समयसम्म रोगीको उपचार हुन नसके मृत्युसमेत हुने गरेपनि नेपालमा सन् २००१२ यता औलो रोगका कारण कसैको मृत्यु भएको छैन।
रोग रोकथामका लागि जिल्ला जनस्वास्थ्य कार्यालयले जोखिम बढी रहेका क्षेत्रमा कीटनाशक विषादी प्रयोग गरिएको ‘सुपानेट झुल’ वितरण गर्ने र कीटनाशक औषधि छर्किने काम गर्दै आएको छ।रासस