PahiloPost

Jul 25, 2025 | १० साउन २०८२

नेपालगञ्ज विमानस्थलमा एयर ट्राफिक जाम, जहाज पार्किङमा समस्या



पहिलोपोस्ट

नेपालगञ्ज विमानस्थलमा एयर ट्राफिक जाम, जहाज पार्किङमा समस्या

बाँकेः नेपालगञ्ज विमानस्थलमा दैनिक हवाई उडानको चाप बढेपछि एयर ट्राफिक जाम हुन थालेको छ। 

नेपालगञ्जबाट काठमाडौँका लागि दैनिक १० र कर्णाली अञ्चलका लागि २० वटा उडान हुन थालेपछि एयर ट्राफिक बढेको हो। हवाईजहाजको संख्या बढेपछि कर्णाली र राजधानी उडान भर्ने जहाजका लागि पार्किङ समस्यासमेत बढेको छ। 

उडान संख्या बढेसँगै एयर ट्राफिकले नेपालगञ्जको आकाशमै जहाज होल्ड गर्न थालेको छ। कर्णालीमा उडान भर्ने जहाजभन्दा नेपालगञ्ज–काठमाडौँ उडान भर्ने समयमा एयर ट्राफिक र पार्किङ समस्या बढ्ने गरेको विमानस्थल कार्यालयले जनाएको छ। 

नेपालगञ्ज विमानस्थल हुँदै काठमाडौंका लागि बुद्ध एयरका तीन, यतिका तीन, सौर्य र श्री एयरका दुई÷दुई उडान दैनिक हुने गरेका छन्। 

कर्णालीका लागि तारा, सीता, यति, सिम्रिक, काष्ठमण्डपका सात जहाजले दैनिक उडान भर्दै आएका छन्। मानसरोवर यात्रीका कारण पनि हुम्लाको सिमीकोटका लागि उडान बढेका छन्। 

ठूला दुई जहाज अटाउने क्षमताको विमानस्थलको पार्किङस्थल छ। एकैपटक दैनिक उडान भर्ने वुद्ध, यति, सौर्य र श्रीएयर होल्डमा भएर पार्किङसमेत समस्या उत्पन्न भएको विमानस्थल कार्यालय प्रमुख प्रतापबाबु तिवारीले जानकारी दिए। 

साना ट्वीनअटर सातवटासम्म जहाजको क्षमता विमानस्थलमा रहेको छ। एयर ट्राफिक जाम हुन नदिन विमानस्थलले काठमाडौँबाट उडान तालिका आधा घण्टाको फरकमा राखेको छ, तर मौसम प्रतिकूल र होल्ड हुनुपर्ने अवस्थामा समस्या हुने गरेको छ। 

पछिल्लो समयमा नयाँ जहाज थपिएको र पर्यटक बढेपछि उडानको संख्यामा वृद्धि भएको छ।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell