
काठमाडौँः स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ का आठ जिल्लाका १३६ स्थानीय तहमा असोज २ गते भएको निर्वाचनको हालसम्म प्राप्त विवरण अनुसार ११९ स्थानीय तहमा मतगणना जारी छ।
निर्वाचन आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट प्राप्त विवरणअनुसार दिउँसो एक बजेसम्ममा बाँकी रहेका सप्तरीका चार, सिरहाको एक, धनुषाका दुई, महोत्तरीका दुई, सर्लाहीको एक, रौतहटको एक, बाराको एक र पर्साका चार स्थानीय तहमा मतगणनाको तयारी भइरहेको छ।
मतगणनाका लागि सम्बन्धित स्थानीय तहका राजनीतिक दलसँग समन्वय गर्ने कार्य भइरहेको जानकारी प्राप्त भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।