
कोलोम्बोः श्रीलङ्काली पूर्वसैनिक प्रमुख एवम् हालका क्षेत्रीय विकाससम्बन्धी मन्त्री शरथ फोँसेकाले संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिका जाने भिसा पाएनन्।
उनी संयुक्त राष्ट्रसंघको ७२ औँ महासभामा सहभागिताका लागि अमेरिका जान लागेका थिए। श्रीलङ्काली प्रतिनिधिमण्डलमा उनी पनि एकजना सदस्य थिए।
तर सबैजना सदस्यले भिसा पाए पनि उनलाई भने अमेरिकाले भिसा दिएन।उनी सन् २००९ मा श्रीलङ्काली विद्रोही समूह, तामिल टाइगरविरुद्धको कारबाहीका समयमा सैनिक प्रमुख थिए।
उनीमाथि तामिलविरुद्ध युद्धअपराध गरेको अभियोग लागेको छ। सोही अभियोगका कारण नै उनलाई अमेरिका जान भिसा प्राप्त नभएको हो।
उनले पत्रकारहरुलाई भने,‘ म पनि श्रीलङ्काली राष्ट्रपति मैत्रीपाला सिरिसेनाको प्रतिनिधिमण्डलमा राष्ट्रसंघीय महासभावमा जाने सदस्य थिएँ तर मैले भिसा पाइन।’
उनले भने,‘मैले सोही कारणले नै भिसा पाउन नसकेको हो, यो कुराको अनुसन्धान हुनुपर्छ यसले मलाई अन्याय भएको छ।’राष्ट्रपति सिरिसेनाको नेतृत्वको प्रतिनिधिमण्डल भने गत आइतबार नै अमेरिका प्रस्थान गरिसकेको छ।
सन् २००९ मा श्रीलङ्काली सरकारले तामिलका विरुद्धमा आक्रामक कारबाही गरेको थियो। सोही कारबाहीपछि उक्त विद्रोहको अन्त्य भएको थियो।
त्यस समयमा उक्त जातीय विद्रोही समूहका कम्तीमा पनि ४० हजार विद्रोही मारिएका थिए। उनलाई युद्धअपराधको आरोप लाग्दै आएपनि उनले त्यस समयमा आफूले ती विद्रोहीको सफाया गरेको नभई सरकारको आदेशको मात्र पालना गरेको बताउँदै आएका छन्।रासस/एएफपी