काठमाडौं: ट्राफिक चेतनाका लागि कार्यक्रम 'राइडर्स टू गाइडर्स' सम्पन्न भयो। कार्यक्रमका प्रमुख अतिथि रहेका डिआइजी सर्वेन्द्र खनालले काठमाडौंको ट्राफिक र ट्राफिक प्रहरीको समस्या बारे बोले। उनले सवारी चालकले हरेक ट्राफिक प्रहरीलाई गलत सोच्नु ठिक नभएको बताए। सनराइज युनेस्को क्लबद्वारा आयोजित ट्राफिक सचेतना कार्यक्रममा खनालले भने,'८ घण्टा धुलो, धुवाँ र अस्तव्यस्तताबिच उभिएर हात हल्लाउँदै बस्नु सजिलो काम होइन। फेरी हरेक दिन १०० भन्दा बढीसँग बोल्नु पर्दा प्रेसर हुन्छ। यस्तोमा सबै ट्राफिक प्रहरी गलत हुँदैनन्।'
सवारी साधन चालक र ट्राफिक प्रहरी बिचको दुरी घटाउन र एकअर्काको समस्या बारे जानकार गराउन आयोजित कार्यक्रममा सर्वेन्द्र खनालले सवारी चालकमा धैर्यता नभएको अनुभव गरेको बताए। कार्यक्रममा नेपालमा होन्डा बाइकको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङका अध्यक्ष रहेका सौरभ ज्योति र राइडर वर्षा बस्नेतको पनि विशेष उपस्थिती रहेको थियो। कार्यक्रममा सौरभ ज्योतिले भने,'मोटरसाइकल बिक्रीसँगै सुरक्षलाई पनि ध्यानमा राखेका छौं। 'सेल्स, सर्भिस र सेफ्टी' हाम्रो मुख्य उदेश्य हो। तर नेपालको हकमा उचित ट्राफिक व्यवस्थापन, सडक र चालक स्वयंम जिम्मेवार पाईंदैन।'
ज्योतिले ट्राफिक नियम र लाइसेन्स निकाल्नको लागि हुने ट्रायल प्रक्रियामा भएको परिवर्तनलाई भने सकारात्मक रुपमा लिन पर्ने बताए।
धुलो र धुँवाको समस्या बारे भने सर्वेन्द्र खनाल भन्छन्,'प्रदुषणले सबैभन्दा धेरै त ट्राफिक प्रहरीलाई नै असर गरेको छ। तर यो समस्या ट्राफिक प्रहरी मात्रले समाधान गर्न सम्भव छैन।' उनले हरेक चालकले आफ्नो साथै अन्य चालकको सुरक्षामा ध्यान दिन आवश्यक रहेको बताए। 'र ट्राफिक प्रहरीले पनि चालक तथा पैदल यात्रुसँग उचित व्यवहार गर्न आवश्यक देखिन्छ', उनले भने।
समराइज युनेस्कोका अध्यक्ष विजय नेपालले चालक र ट्राफिकलाई नजिक ल्याउन र एकअर्काको समस्या बारे जानकार गराउन कार्यक्रम आयोजना गरेको बताए। प्रोफेशनल बाइक राइड र स्ट्न्टसहरुको स्कोप बारे पनि छलफल भएको थियो। महिला बाइक राइडर रहेकी वर्षा बस्नेतले भनिन्,'सरकार र बाइक कम्पनीहरुले रेसिङ स्टन्टस प्रोमोट गर्नु पर्छ। नेपालमा उचित ट्रेनिङ सेन्टर र रेस ट्र्याकको पनि आवश्यकता छ।'