PahiloPost

Jul 26, 2025 | ११ साउन २०८२

परराष्ट्रमन्त्री राष्ट्रसंघको ७२ औं महासभाको उद्घाटन समारोहमा सहभागी



पहिलोपोस्ट

परराष्ट्रमन्त्री राष्ट्रसंघको ७२ औं महासभाको उद्घाटन समारोहमा सहभागी

काठमाडौँ :  उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संयुक्त राष्ट्र संघको ७२ औं महासभाको उद्घाटन समारोहमा सहभागी भएका छन्। 

न्युयोर्कस्थित राष्ट्र संघको मुख्यालयमा मंगलबारदेखि सुरु भएको महासभा ‘जनता केन्द्रितः शान्तिका लागि प्रयास तथा दिगो ‘प्लानेट’का लागि मर्यादित जीवन’ भन्ने मुख्य विषयमा केन्द्रित छ। 

महासभामा राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेजले वार्षिक प्रतिवेदन पेश गरेका थिए। त्यस लगतै महासभालाई ब्राजिलका राष्ट्रपति माइकेल टेमेर र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्बोधन गरेका थिए। 

सो अवसरमा उपप्रधान तथा परराष्ट्रमन्त्री महरा बेलायती प्रधानमन्त्री थेरेसा मेले प्रस्तुत गरेको जबर्जस्ती श्रम, आधुनिक दास तथा मानव तस्करी कार्यक्रममा पनि सहभागी भए। 

सो अवसरमा उनले संयुक्त राष्ट्रसंघ अन्तर्गतका संस्था तथा गैरसरकारी संस्था शिक्षा तथा जागरुकतामा केन्द्रित हुनुपर्ने बताए। उनले जबर्जस्ती श्रम, दास तथा मानव तस्करीको मुक्तिका लागि नेपालले प्रतिबद्धता जनाएको स्पष्ट पारे। 

त्यसअघि परराष्ट्रमन्त्री महरा दिगो विकासका लागि पानी भन्ने अन्तरक्रियामा सहभागी भएका थिए। 

अन्तरक्रियामा सन् २०३० सम्म सबैलाई सुरक्षित र खरिद गर्नसक्ने पानीको पर्याप्तता तथा त्यसका लागि पूर्वाधारमा ठूलो लगानी गर्ने विषयमा केन्द्रित थियो। 

त्यसैगरी सोही क्रममा युरोपेली सङ्घ, जापान तथा संयुक्त राष्ट्र सङ्घले आयोजना गरेको गुणस्तरीय पूर्वाधारमा लगानी प्रवद्र्धनसम्बन्धी कार्यक्रममा नेपालकातर्फबाट परराष्ट्रमन्त्री महराले सहभागिता जनाए। त्यस लगतै उनी महासचिव एन्टोनियोले आयोजना गरेको भोगमा सहभागी भए। 

त्यसैगरी उनले नर्वेका विदेश मन्त्री बोर्जे ब्रेन्डेसँग द्विपक्षीय वार्ता गरे। सो अवसरमा उनीहरुबीच द्विपक्षीय सम्बन्ध तथा सहयोगका विविध विषयमा छलफल भएको थियो। 

महासभाकै अवसरमा उपप्रधानमन्त्री महराले दक्षिणी एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को मन्त्रीस्तरीय बैठकको अध्यक्षता गर्नेछन्। त्यस्तै उनले असंलग्न आन्दोलन (जि७७), चीन, अतिकमविकसित मुलुक तथा भूपरिवेष्ठित विकासशील मुलुकको बैठकमा नेपालको प्रतिनिधित्व गर्नेछन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell