वीरगंज : वीरगंज महानगरपालिकाको बुधबार दिउँसोसम्म ६ हजार मत गन्दा राष्ट्रिय जनता पार्टीका मेयर तथा उपमेयर उम्मेदवारले अग्रता कायम राखेका छन्।
हाल वडा नम्बर १, २, ३, ३०, ३१ र ३२ मा मतगणना भइरहेको छ। नेपाली कांग्रेसका उम्मेदवार अजय द्विवेदीले मध्यरातमा अग्रता लिए पनि बुधबार बिहानदेखि राजपाले फेरि कांग्रेस उम्मेदवारलाई पछि पारेका हुन्। यो अग्रता दिउँसोसम्म कायमै छ।
६ हजार मतगणना हुँदा राजपाका मेयर उम्मेदवार राजेशमान सिंहको १ हजार ४०२ मत रहेको छ। नेपाली कांग्रेसका अजय द्विवेदी १ हजार २ सय मतका साथ पछ्याइरहेका छन्।
संघीय समाजवादी फोरमका विजय सरावगीको मत ६६६ रहेको छ। उनी अहिले तेस्रो स्थानमा छन्।
एमालेका उम्मेदवार बसरुद्दिन अन्सारी ५०७ मतका साथ चौथो स्थानमा छन्।
प्रदेश २ को एकमात्र महानगर वीरगंजमा कूल १ लाख ८ हजार ५०१ मतदाता रहेकोमा ८४ हजारको हाराहारीमा मत खसेको छ।