वीरगंज : बाराका १६ स्थानीय तहमध्ये अधिकांशमा मतगणना जारी रहेको छ। उत्तरी क्षेत्रका स्थानीय तहमा एमालेले अग्रता लिँदा दक्षिण भेगमा राजपा र फोरम नेपाल बीच प्रतिस्पर्धा देखिएको छ।
जिल्लाको आर्थिक समृद्धिका हिसाबले सबैभन्दा बलियो उपमहानगरका रुपमा हेरिएको जीतपुर सिमरामा प्रमुख दल एमाले, माओवादी र काग्रेस नै प्रतिस्पर्धामा छन्। राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यान्वयनको चरणमा रहेको यस नगरमा नगरप्रमुखको जिम्मेवारी कसले पाउने भन्ने विषय बहुप्रतीक्षित छ।
कलैया उपमहानगरपालिकामा संघीय समाजवादी फोरमले अग्रता लिएको छ। हिजो अबेरबाट मतगणना सुरु गरिएको कलैयामा २ सय मत अन्तरले एमाले पछि छ। कलैयामा कांग्रेस तेस्रो स्थानमा छ।
बाराको निजगढ नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका मंगल लोप्चन विजयी भएका छन् भने वडा नम्बर २ मा नेकपा एमालेका केशव ढोडारी विजयी भएका छन्। वडा नम्बर ३ मा नेकपा एमालेका जीतबहादुर तामाङ विजयी भएका छन्। वडा नम्बर १३ मा नेपाली कांग्रेसका सूर्य घलान विजयी भएको मतदान अधिकृत गोविन्द गौलीले जानकारी दिए।
कोहल्वी नगरपालिकामा पनि एमालेले नै अग्रता लिइरहेको छ भने कांग्रेस सामान्य मत अन्तरले दोश्रो स्थानमा छ। नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन गरेको निजगढ नगरपालिकामा एमालेले नै अग्रता लिइरहेको छ। माओवादीले कांग्रेस नगर प्रमुखलाई समर्थन गरेर उपप्रमुख हित अन्य पद माओवादी केन्द्रलाई मतदानको आह्वान गरेका दुई दलसँग एमाले एक्लै मैदानमा पहिलो अवस्थामा उभिएको छ ।
जिल्लाको पचरौता नगरपालिका, आदर्शकोतवाल गाउँपालिका, सुवर्ण गाउँपालिका, फेंटा गाउँपालिका र महागढीमाई नगरपालिकामा एमाले र कांग्रेसले नै अग्रता लिइरहेका छन्। मधेशी दलको बढी प्रभाव मानिएका तहमा समेत एमाले कांग्रेस नै अग्रस्थानमा रहँदा संघीय समाजवादी र राजपाले पछ्याइरहेका छन्।
राजपा र संघीय समाजवादी फोरम पनि जिल्लाको केही तहमा अग्रस्थान मै छन्। पचरौता नगरपालिका, विश्रामपुर गाउँपालिका, परसौनी गाउँपालिका, परवानीपुर गाउँपालिका र करैयामाई गाउँपालिकामा राजपा र संघीय फोरम लोकतान्त्रिक अग्रस्थानमा छन्। मधेशी दल अग्र स्थानमा देखिएका दलमा एमाले कडा प्रतिस्पर्धामा छ, भने कांग्रेस माओवादी पछि छन्।