
वासिङ्टनः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र कतारका राजा तमिम बिन हमाद अल थानीबीच भेटवार्ता भएको छ।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन गएका कतारका राजा थानी र अमेरिकी राष्ट्रपतिबीच न्यूयोर्कमा भेटवार्ता भएको हो।
कतारमा केही महिनायतादेखि उत्पन्न कूटनीतिक तनावका बारेमा भेटवार्ता केन्द्रित भएको बताइएको छ।
कतारमाथि पछिल्लो समय उसका छिमेकी देशहरुले नाकाबन्दी लगाएका छन्। उनीहरुले आफ्नो आकासमा कतार एरवेजलाई उड्न पनि दिएका छैनन्।
भेटवार्ताका क्रममा कतारका राजाले आफ्नो देशमा लगाइएको नाकाबन्दीका साथै अन्य कूटनीतिक समस्याका कारण उत्पन्न भएको असहज परिस्थितिको बारेमा ट्रम्पलाई जानकारी गराएका थिए।
कतारका राजाले समस्या समाधानका लागि अमेरिकाले मध्यस्थता गरिदिनुपर्ने आग्रह गरेका थिए। सो क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले समस्याको समाधान चाँडै हुने आश्वासन दिएका बताइएको छ।
भेटका क्रममा अमेरिकाले जारी राखेको आतङ्कवादविरोधी अभियानमा कतारले पनि सघाउनुपर्नेमा जोड दिएको र यस विषयमा दुवै देश मिलेर कामगर्ने विषयमा समझदारी भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसले विज्ञप्तिमार्फत जानकारी दिएको छ।
गत जुनको ५ तारिखदेखि साउदी अरेबिया नेतृत्वमा कतारका छिमेकी देशहरुले कतारलाई कूटनीतिक रुपमा एक्लाउने काम गरेका छन्। उनीहरुले कतारसँगको कूटनीतिक सम्बन्ध पनि एक पक्षीयरुपमा तोडेका छन्। रासस/सिन्ह्वा