PahiloPost

Jul 26, 2025 | ११ साउन २०८२

किन घट्यो अण्डाको मूल्य ? यस्तो छ कारण 



पहिलोपोस्ट

किन घट्यो अण्डाको मूल्य ? यस्तो छ कारण 

चितवनः चाडपर्वसँगै काठमाडौँबाट सर्वसाधारण बाहिरिन थालेपछि खपत घट्दा अण्डाको मूल्यमा कमी आएको छ। 

नेपाल अण्डा उत्पादक सङ्घले दिएको जानकारीअनुसार एक क्रेट (३० वटा) ठूलो अण्डाको फार्मबाट किसानले बिक्री गर्ने मूल्य ३३० रुपैयाँ कायम गरिएको छ। मध्यम आकारको अण्डाको खरिद मूल्य प्रतिक्रेट २७० कायम गरिएको सङ्घका अध्यक्ष शिवराम केसीले जानकारी दिए। 

खरिद मूल्यमा पाँच रुपैयाँ बढी लिएर बिक्री गर्ने चलन छ। उपभोक्ताले अण्डालाई बढी नै मूल्य तिरेपनि किसानले केही महिनायता निरन्तर कम मूल्य पाउँदै आएका थिए।

अध्यक्ष केसीका अनुसार चार महिनाअघि ठूलो अण्डाको खरिद मूल्य प्रतिक्रेट ३६० रुपैयाँसम्म थियो भने मझौला अण्डाको किसानले प्रतिक्रेट ३३० मूल्य पाएका थिए। 

काठमाडौँबाट सर्वसधारण बाहिरिनु, सोह्र श्राद्धका कारण खपत कम हुनु, पहाडी क्षेत्रमा अण्डा पु र्याउन नसक्नु लगायतका कारण माग घटेसँगै अण्डाको मूल्य समायोजन गरिएको हो। दशैंको पूर्णिमापछि पुनः मूल्य वृद्धि हुने उनले बताए। 

लागत मूल्य बढ्ने र अण्डाको मुल्य घट्दा कृषक चिन्तित बनेका छन्। लेयर्स कुखुराको चल्लाको मूल्य प्रतिगोटा १७० रुपैयाँ पुगेको छ।

दाना, औषधि, मजदुर, ढुवानी लगायतको मूल्य बढेकाले अण्डाको हालको मूल्यले लागत धान्न मुस्किल पर्ने सङ्घका महासचिव त्रिलोचन कँडेलले बताए। उपभोक्ता मूल्य प्रतिगोटा १४ रहेको छ नेपालमा हाल दैनिक २० लाख गोटासम्म अण्डा उत्पादन हुन्छ। 

चार वर्षअघि नेपालमा दैनिक २५ लाख गोटासम्म अण्डा उत्पादन हुने गरेको सङ्घका अध्यक्ष केसीले बताए। कुखुरामा देखिने घातक रोग बर्ड फ्लुको प्रकोपले किसान विस्थापित हुँदा अण्डा उत्पादन घट्दै गएको हो। जमिन खण्डीकरण हुँदै जानु र अन्य रोगको प्रकोप बढ्नुले कुखुरा पाल्ने किसानको सङ्ख्या घट्दै गएको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell