
काठमाडौं : तेस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना जारी छ। अहिलेसम्म औपचारिक रुपमा १८ स्थानको नतिजा आइसकेको छ।
१८ मध्ये कांग्रेसले ६, एमालेले चार स्थानमा जित हासिल गरेको छ। यस्तै, माओवादी र लोकतान्त्रिक फोरमले दुई/दुई स्थानमा जित निकालेका छन्। यस्तै संघीय समाजवादी फोरम तथा राजपाले दुई/ दुई स्थानमा जित हासिल गरेका छन्।
जारी मतगणनामा कांग्रेसको अग्रता छ।
नेपाली कांग्रेसले अहिलेसम्म पाँच स्थानमा जित हात पारेको छ। जारी मतगणनामा भने कांग्रेसको अन्य दलसँग फराकिलो अग्रता छ।
कांग्रेसले सिरहाको नवराजपुर गाउँपालिकामा जित हासिल गरेको छ। नवराजपुरमा कांग्रेसका विश्वमोहन यादव विजयी भएका छन्। यस्तै, उपाध्यक्षमा पनि कांग्रेसकै शोभाकुमारी यादव विजयी भएकी छन्।
यस्तै धनुषाको औरही गाउँपालिका पनि कांग्रेसले जितेको छ। अध्यक्षमा कांग्रेसका ब्रह्मदेव यादव विजयी भएका छन्। उपाध्यक्षमा पनि कांग्रेसकै मीरा सहनी विजयी भएकी छन्।
कांग्रेसले धनुषाको जनकनन्दिनी र धनकौला गाउँपालिकामा पनि जित हासिल गरेको छ। कांग्रेसले रौतहटको परोहा नगरपालिकामा पनि जित हासिल गरेको छ। सप्तरीको विष्णुपुर गाउँपालिकामा पनि कांग्रेस उम्मेदवार नै विजयी भएका छन्।
सप्तरीको सप्तकोशी नगरापालिकामा एमालेका उम्मेदवार उत्तम कुमार शर्मा विजयी भएका छन्। उपप्रमुखमा पनि एमालेकै आशा चौधरी विजयी भएकी छन्। प्रमुख उपप्रमुख दुबैका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार थिए।
यस्तै, पर्साको पटेर्वा सुगौली गाउँपालिकाको अध्यक्षमा एमालेका हरिनारायण चौधरी विजयी भएका छन्। उपाध्यक्षमा भने कांग्रेसकी ममता चौधरी विजयी भएकी छन्।
धनुषाको मुखियापाट्टी मुसरनिया र बटेश्वर गाउँपालिकामा पनि एमालेले नै जित हात पारेको छ। मुखियापाट्टीको अध्यक्षमा एमालेका मनोज यादव विजयी भएका छन्। यस्तै, बटेश्वरमा डम्बर बहादुर राउत विजयी भएका छन्। उपाध्यक्षमा एमालेकी प्रमिला देवीले जित हात पारिन ।
माओवादी केन्द्रले पनि दुई स्थानमा जित हात पारेको छ। माओवादीले सिरहाको कर्जन्हा नगरपालिकामा जित हासिल गरेको छ। नगर प्रमुखमा गंगा पासवाद र उपप्रमुखमा पार्वती श्रेष्ठ विजयी भएकी छन्।
यस्तै, अर्नमा गाउँपालिकामा माओवादी केन्द्रकै ठकु महतो कोइरी विजयी भएका छन्। उपाध्यक्षमा पनि एक मतको अन्तरले माओवादीकै उम्मेदवार विजयी भइन्। उपाध्यक्षमा सीयावती मुखिया विजयी भएकी छन्।
नेपाल लोकतान्त्रिक फोरम पनि दुई स्थानमा नै विजयी भएको छ । उसले रौतहटको इशानाथ गाउँपालिकामा जित हात पारेको छ। नगर प्रमुखमा सन्तोष मेहता र उपप्रमुखमा हुसनी आरा खातुन विजयी भएकी छन्। यस्तै, सर्लाहीको विष्णु गाउँपालिकामा पनि लोकतान्त्रिक फोरमका जवहारलाल यादव विजयी भएका छन्।
जारी मतगणनामा उपेन्द्र यादव नेतृत्वका संघीय समाजवादी फोरमले एक स्थानमा जित हासिल गरेको छ। सिरहाको विष्णुपुर गाउँपालिका अध्यक्षमा संघीय समाजवादीका जागेश्वर यादव विजयी भएका हुन्। यस्तै, फोरमकै उपाध्यक्षमा अरहुलादेवी सिंह विजयी भएकी छन्। सिरहाको भगवानपुर गाउँपालिकामा पनि संघीय समाजवादी फोरम नै विजयी भएको छ।
राष्ट्रिय जनता पार्टी राजपाले धनुषाको हंसपुर नगरपालिकामा जित हासिल गरेको छ। नगर प्रमुखमा रामज्ञान मण्डल र उपप्रमुखमा रेणु झा विजयी भएकी छन्। यस्तै सिरहाको कौडेना गाउँपालिकामा पनि रापजा विजयी भएको छ।