PahiloPost

Jul 26, 2025 | ११ साउन २०८२

मेक्सिकोमा भूकम्पपीडितको उद्धार जारी, मृत्यु हुनेको संख्या २ सय ३० नाघ्यो



पहिलोपोस्ट

मेक्सिकोमा भूकम्पपीडितको उद्धार जारी, मृत्यु हुनेको संख्या २ सय ३० नाघ्यो
फोटो श्रोतः एएफपी

मेक्सिको सिटीः मेक्सिकोमा मङ्गलबार राति गएको शक्तिशाली भूकम्पमा परी पुरिएकाहरुलाई जिवीतै उद्धारका लागि प्रयास भइरहेकाे छ।

शक्तिशाली भूकम्पबाट भत्किएका भवन र भग्नावशेषमा परी पुरिएकाहरुको जिवीतै उद्धार गर्ने कोशिसमा कुकुरको सहायताबाट जारी राखिएको बताइएको छ। 

मेक्सिको सहरको दक्षिणी भागमा अवस्थित एक विद्यालयमा भूकम्पमा परी २१ बालबालिकाको मृत्यु भएको छ। ती बालबालिका सातदेखि १३ वर्षसम्मका रहेका छन्। 

अझै पनि कैयौँ बालबालिका बेपत्ता छन्। भूकम्प गएको २४ घण्टापछि अर्थात बुधबार अपराह्नसम्म पनि ती बालबालिकालाई जिवीतै उद्धार गर्ने प्रयास गरिएको बालबालिकाका अभिभावकले जनाएका छन्। 

उनीहरु आफै पनि रोइकराई गर्दै आफ्ना बालबालिकाको उद्धारमा लागिपरेका छन्। तर प्रहरीले भने अब ती बालबालिकालाई जिवीतै बाहिर निकाल्ने काम अत्यन्तै गाह्रो भएको बताएको छ। 

७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी २ सय ३० भन्दा बढीको मृत्यु भईसकेको छ। यसबाट ठूलो जनधनको क्षतिको अनुमान गरिएको र उद्वारकार्य जारी रहेको जनाइएको छ। 

भूकम्पपछि कैयौँ व्यक्ति भग्नावशेषमा पुरिएको हुनसक्ने अनुमान गरिएको छ। यसअघि दुई हप्तामात्र अघि पनि मेक्सिकोमा योभन्दा झनै शक्तिशाली भूकम्प गएको थियो। सेप्टेम्बर ७ मा ८.१ म्याग्निच्युडको भूकम्पमा परी ९० जनाको ज्यान गएको थियो। 

मेक्सिकोलाई दुई हप्ताभित्रै यसरी शक्तिशाली भूकम्पले क्षति पुर्याएको भन्दै यहाँका सरकारी अधिकारीहरूले धैर्यधारण गर्न सबै नागरिकमा आह्वान गरेका छन्। रासस/एएफपी

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell