PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

गैरसरकारी संस्थालाई राष्ट्रपतिको आग्रहः परिणाममुखी काम गर्नुस्



पहिलोपोस्ट

गैरसरकारी संस्थालाई राष्ट्रपतिको आग्रहः परिणाममुखी काम गर्नुस्

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले गैरसरकारी संघ संस्थाले सार्थक परिणाम आउने गरी जनताको पक्षमा काम गर्नुपर्ने बताएकी छन्। 

अठ्तीसौँ सामाजिक सेवा दिवसको अवसरमा समाज कल्याण परिषदद्वारा आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले मुलुकको राष्ट्रिय आवश्यकता र प्राथमिकताको क्षेत्रमा गैरसरकारी संघसंस्थाले निष्पक्ष, पारदर्शी र जवाफदेहीपनलाई व्यवहारमा उतारेर सार्थक परिणाम आउने गरी काम गर्नु अहिलेको आवश्यकता भएको बताइन्। 

उनले भनिन,‘गैरसरकारी संस्थाको संख्यात्मक वृद्धिसँगै गुणात्मक पक्षलाई आत्मसाथ गर्दै संघसंस्थालाई निश्चित आधारमा वर्गीकरण गर्ने, गरेका कामको प्रभावकारी अनुगमन गर्ने, संस्थाका गतिविधि र उपलब्धि सार्जजनिक गर्ने, तिनको कामलाई संस्थागत गर्ने गर्नुपर्दछ।’

राष्ट्रपति भण्डारीले ‘सेवा नै धमै हो’ भन्ने समाजमा प्रचलित, लोकप्रिय उक्तिलाई आत्मसाथ गरी सामाजिक सेवाको क्षेत्रमा सक्रिय रूपमा संलग्न हुन सबैलाई आग्रह गरिन्। 

वृद्धवृद्धा हेरचाह, बालबालिका संरक्षण, शिक्षादीक्षा, राहत तथा उद्दार जस्ता परोपकारी कार्यमा सरकारका विभिन्न निकायद्वारा गठित र संरक्षित संघसंस्थाको भूमिकालाई थप परिणामुखी बनाउन नियमन तथा अनुगमन प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने राष्ट्रपति भण्डारीको भनाइ थियो। 

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव प्रेमबहादुर राईले सामाजिक सेवामा आवद्ध सामाजिक संघसंस्था पारदर्शी हुनुपर्ने बताए।

परिषद्ले यस वर्षको ‘तुलसी मेयर समाज सेवा पुरस्कार’ एबिसी नेपाल नामक संस्थालाई प्रदान गरेको छ। पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ।

त्यसैगरी ‘समाज सेवा पुरस्कार–२०७४’ समाजसेवी शान्ता श्रेष्ठ, संगीता पन्त र विद्याकर खतिवडालगायत सात जनालाई प्रदान गरिएको छ। पुरस्कारको राशि जनही २१ हजार रुपैयाँ रहेको छ। 

कार्यक्रममा समाज सेवामा योगदान पुर्याएबापत विभिन्न व्यक्तिलाई सम्मानसमेत गरिएको थियो। ‘शान्ति र सम्बृद्धि सबैको चाहना, सामाजिक सेवामा निःस्वार्थ भावना’ भन्ने मूलनाराका साथ परिषद्ले तीन दिनसम्म विभिन्न कार्यक्रम गरी सामाजिक सेवा दिवस मनाएको छ। 

समाजको सर्वाङ्गीण विकासको लागि सामाजिक, आर्थिक तथा सांस्कृतिक रूपमा पछि परेका वर्ग, समुदाय, जाति, लिङ्ग तथा भूगोलका जनसमुदायलाई सेवा पुर्याउने, आर्थिक एवं सामाजिक रूपमा सक्षम बनाउने र समाज सेवासँग सम्बन्धित विभिन्न क्रियाकलापलाई राज्यले निर्दिष्ट गरेको विकास निर्माण कार्यसँग आवद्ध गराउने उद्देश्यले २०३४ सालमा समाज कल्याण परिषद्को स्थापना भएको हो। 

परिषद्ले हाल सामाजिक क्षेत्रमा कार्यरत सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको समन्वय, सम्झौता, तिनका कार्यक्रमको सुपरीवेक्षण, अनुगमन, मूल्यांकन र कार्यक्रमको सहजीकरणको जिम्मेवारीसमेत बहन गर्दै आएको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell