साँच्चै देशमा संकटकाल घोषणा भएजस्तो लाग्यो कनिकालाई। दरवारमार्गका सारा पसल बन्द छन्। ममी र आण्टीहरु दरवारमार्गमा नै जुत्ता किन्ने गर्नुहुन्थ्यो। शुक्रवारदेखि पसल खुल्ने हल्ला पनि चलेको थियो। बिहीवारसम्म कुनै ब्राण्डेड पसल खुलेका थिएनन्। खाली सलमान भाइको ‘बिइङ ह्यूमन’ र सामसुङका फोन पसल मात्रै खुला थिए। मुख्य पसल नखुलेपछि रेष्टुराँ, पब, बार र भोजनालय पनि खुल्ने कुरा आएन। अन्नपूर्ण कफी शप खुलेको थियो। त्यहाँ पस्ने औकात भएका मानिस नै थिएनन् बजारमा। के सुर चढ्यो, कनिका आफैं छिरी कफी शपमा। यहाँको चिकन कटलेट निकै मिठो लाग्दथ्यो उसलाई। दिप्ती पनि त्यत्तिकै फ्यान थिइ। कनिकाले फोन गरी। दिप्ती तुरुन्तै आउन तयार भइ। कनिकाले दुईवटा कटलेट अर्डर गरी। दुईवटा फ्रेस लेमन सोडा।
उसले देखी, कफी शपले त निकै प्रगति गरिसकेको रहेछ। पहिले कफीको नाममा इन्स्ट्याण्ट मात्रै मिल्दथ्यो। ओहो, अहिले त अर्गानिक भै सकेछ। देशमा अर्गानिकको धूम छ। सबैथोक अर्गानिक भै सक्यो। अब स्त्री पुरुष (सरकारले महिला पुरुषको सट्टा स्त्री पुरुषको नियम बनायो कि क्या हो, अचेल स्त्री पुरुष नै चलन चल्तीमा आएको छ) मात्र अर्गानिक उत्पन्न हुन बाँकी छ। कनिका सोच्दै थिइ कि दिप्ती आइ पुगी र मेचमा बस्दै भनी, ‘थ्यांकस फर इन्भाइटिङ मी फर वण्डरफूल कटलेट।’
दिप्तीको हातको मोबाइल स्क्रीनमा कसैको फोटो थियो। कनिकाले इशारामा सोधी, ‘कसको?’ जवाफ दिइ, ‘यो तैंले नै वीरगंजबाट पठाएको फोटो हो। रहबरको। हेर त कति राम्रो मान्छे छ। रवीन्द्र मिश्रले पायो भने यसलाई साझा पार्टीमा तान्न खोज्नेछ। कस्तो स्वभाव होला। राम्रो मानिस त देख्नै नहुने।’
दिप्तीको कुरा सुनेर कनिकालाई हाँसो उठ्यो। ऊ खिलखिलाउन थालेकी मात्रै थिइ कटलेट आइपुग्यो।
कटलेट देखेर दिप्तीले आफैंसँग भनी, ‘ओहो, के सँग खाने होला ?’ त्यसपछि वेटरलाई इशारा गरी। वेटर आएपछि भनी, ‘जेबी लार्ज’ त्यसपछि कनिकातिर हेरेर भनी ‘तँ पनि ?’
कनिकाले भनी, ‘नो, हाय्भ टु वर्क । मधेशको विश्लेषण ।’
दिप्तीले हाँस्दै भनी, ‘डोन्ट फरगेट रहबर। गिभ हिम स्पेस। हि इज नट चकलेटी हिरो लाइक रविन्द्र।’
त्यसपछि दिप्ती हाँसी मस्तसँग। कनिकाले भरपूर साथ दिइ।
कनिका भर्खरै फर्केकी थिइ मधेशको चुनाव रिपोर्टिङबाट। उसको दिलदिमागमा थियो ठूलो उथलपुथल। उसले सोचेकी थिइ, मधेशमा ववाल हुनेछ। मारामार, पिटापिट। वूथ लूटालूट। तर, यहाँ त उल्टो खोला बहेको थियो। मधेशका मानिसले लोेकतन्त्रको उपयोग गर्न जानेका थिए। उनीहरुमा कुनै पार्टीका प्रति र कुनै नेताका प्रति तूष–विव्देष केही देखिएन। लोकतान्त्रिक अभ्यास पहाडमा भन्दा मधेशमा राम्रो थियो। मतदाता भोट दिन पाएकोमा खुशी थिए। स्वतन्त्र चुनावका लागि संघर्षको पहिलो चरण।
कनिकाको मनमा तीनवटा इस्सू थिए। मधेशको चुनाव महत्वपूर्ण इस्सू थियो, त्यो सकियो। अब बाँकी थियो दशैं र बजार। संविधान दिवसको विदालाई समेत जोडदा दशैंको तीन दिन बितिसकेको थियो। नयाँ सडकमा पोहोर परारको जस्तो भीड थिएन। सरकारले ब्राण्ड आतंक चलाएपछि ब्राण्डका ठेकदारी लिएका धेरै पसल बन्द थिए। ब्राण्डेडका उपभोक्ताहरु शपिंगका लागि कोही व्यांकक र कोही बम्बईतिर उडेका थिए। बिचरो नेपाल। यति रमाइलो पर्यटनको केन्द्र भइकन पनि यहाँ एउटै व्राण्डेड सामानका दुकान छैनन्। जो छन् ती अलमलमा छन्। सरकारका अधिकारीहरुलाई ब्राण्ड सक्कली हो कि नक्कली हो? लण्ठोमा पर्नुछैन। उनीहरुले सरकारलाई बाहिरी र आफूलाई भित्री आम्दानी असूल्न पाए भने पुगी हाल्छ।
हो, दशैं अर्को इस्सू छ कनिकाको हातमा ।
दशैं जसरी उसलाई आएको छ, उसका साथीहरुलाई आएको छैन। प्रभाको आमा, रमेशको बाबा, उदयको दाजु कनिकाले धेरैलाई सम्झिइ जसको घरमा अभाव छ। तर, असन्तोष छैन। उसलाई खुशी लाग्यो हामी सबै परिवर्तनका लागि, विजयका लागि, तत्पर छौं। तदारुख छौं। कनिकाले आफू र आफना क्रियटरको तर्फबाट सबैलाई शुभकामना दिई विजया दशमीको। त्यसो त ऊ अर्को शुक्रबार पनि आउन सक्छे।
(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको 'कान्तिपुर गाथा' तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। टेलिसिरियल शैलीमा लेखिएका गाथा हरेक हप्ता पहिलोपोस्टमा)