काठमाडौँ : पूर्व राष्ट्रपति डा रामवरण यादवले लोकतन्त्रलाई संस्थागत विकास गराउँदै जीवन्त बनाउन कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले एकअर्कालाई सम्मान गर्नुपर्ने बताएका छन्।
सुशील कोइराला मेमोरियल फाउण्डेशनद्वारा संविधान दिवसका अवसरमा ‘स्थानीय तहको निर्वाचन र संविधान कार्यान्वयन’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले स्थानीय निकाय र प्रदेश र प्रतिनिधि सभाका निर्वाचन सम्पन्नपछि मात्र संविधान कार्यान्वयनमा आउने बताए।
उनले भने,‘ ती तीन अंगबीच एक अर्काका सम्मानले लोकतन्त्रलाई बलियो बनाउने हो। संविधानले पनि यही परिकल्पना गरेको छ। यसलाई आत्मसात् गर्दै अगाडि बढ्न म आह्वान गर्छु।’
पछिल्लो स्थानीय तहको निर्वाचनमा सबै राजनीतिक दलले भाग लिनु सकारात्मक भएको भन्दै पूर्वराष्ट्रपति यादवले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाका निर्वाचनमा पनि यस्तै सहभागिता रहने विश्वास व्यक्त गरे।
यादवले निर्वाचनमा लामो समयदेखि दलमा मूल्य मान्यतामा आस्थावान तथा निष्ठावान् व्यक्तिले टिकट नपाई क्रसर र डोजर उद्योगी तथा पैसावालले पाएकामा चिन्ता व्यक्त गर्दै यस्तो अवस्था आउन दिन नहुने बताए।
उनले प्रश्न गरे,‘मैले सुनेँ स्थानीय तहका निर्वाचनमा वडाध्यक्ष हुनका लागि ५० लाख र गाउँ तथा नगरपालिका प्रमुख हुन एक करोडसम्म खर्च भयो, यस्तो अवस्था हो भने कसरी इमान्दार र निष्ठावान् व्यक्तिले निर्वाचन लड्न सक्छन्?’
तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले संविधान प्रदत्त अधिकारलाई जनताले अपनत्व गरी त्यसलाई व्यवहारिक रुपमा अनुभूत गर्न नसकेसम्म संविधान कार्यान्वयन नहुने तर्क गरे।
कांग्रेस महामन्त्री डा शशांक कोइरालाले स्थानीय तहको निर्वाचनले संविधान कार्यान्वयन गरेको र लोकतन्त्रलाई संस्थागत विकाससमेत गरेको बताए।
पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले संविधान निर्माण गर्न दलहरु एकजुट भएजस्तै कार्यान्वयनमा पनि एकजुट हुन आवश्यक रहेको बताए। रासस