काठमाडौं : गृह मन्त्रालयले काठमाडौंलगायतका मुख्य सहरको प्रत्येक टोलमा प्रहरी पठाउने अवधारणासहित ‘प्रहरी हाम्रो टोलमा’ अभियानको शुभारम्भ गरेको छ। शुक्रवार राजाधानीमा र्याली सहित गृहमन्त्री जनार्दन शर्माले अभियानको शुभारम्भ गरेका हुन्।
गृहमन्त्री शर्माका अनुसार काठमाडौं सहितका मुख्य सहरहरुका टोलमा प्रहरी पठाएर ‘टोल सुरक्षा समिति’ गठन गरिने छ।
‘अब सहरका प्रत्येक टोलहरुमा सुरक्षा समिति गठन गरिने छ, जसमा समाजका जिम्मेवार व्यक्तिहरु सदस्य हुनेछन्’ गृहमन्त्री शर्माले भने, ‘प्रहरी सो समितिको सदस्य सचिवको भूमिकामा रहने छ।’
घट्ना घट्नुपूर्व नै सुचना लिएर अपराध न्युनिकरणका लागि प्रहरीहरुलाई वृत, प्रभाग, विट र चौकीहरुबाट टोल–टोलमा पठाउन लागिएको जानकारी दिँदै गृहमन्त्री शर्माले भने, ‘कुनै टोलमा शंकास्पद गतिविधि भएमा जनताले नै प्रहरीलाई सूचना दिने वातावरण निर्माण गर्न खोजेका छौं।’
काठमाडौंको फोहोरमा मात्र नभई अपराधमा पनि राजनीति मिसिएको उल्लेख गर्दै मन्त्री शर्माले भने, ‘हाम्रो राजधानीमा दैनिक सयौं मानिसहरु ठगिएका छन्, महिला हिंसाका घटहरु भईरहेका छन् त्यसको न्युनिकरणका लागि हामीले मुख्य रुपमा यहींबाट यो अभियानलाई सुरु गर्न खोजेका हौं ।’
घटनापूर्व प्रहरी र समाजलाई घटनाबारे जानकारी भएमा अपराध नियन्त्रणमा सहज हुने सामान्य सोचाईबाट प्रहरीलाई टोल–टोलमा पठाउन लागिएको जानकारी दिँदै मन्त्री शर्माले भने, ‘काठमाडौं खाल्डोमा कहाँ–कहाँ बाघ–भालु, माउसुली र विषालु छन्, भन्नेबारे थाहा पाउन जरुरी छ, त्यसपछि मात्र यहाँको अपराध नियन्त्रण गर्न सकिन्छ।’
नेपाल प्रहरीभित्र जुनियर अफिसरका समस्या कसरी समाधान गर्ने भन्नेबारे स्पष्ट नीति निर्माण गरिने जानकारी दिँदै मन्त्री शर्माले भने, ‘संगठनभित्र सरुवा–बढुवा र पारदर्शिताको सवाल छ तिनलाई कसरी समाधान गर्ने भन्नेबारे कार्यायोजना निर्माण गरेर अगाडि बढाईने छ।’
त्यस्तै प्रहरीका ब्यारेकहरुमा देखिएको खाने, बस्ने र सुत्ने समस्यालाई पनि योजना निर्माण गरेर दिर्घकालिन रुपमा समाधान गरिने मन्त्री शर्माले बताए।