
मेक्सिको सिटीः मेक्सिकोमा मङ्गलबार राति गएको शक्तिशाली भूकम्पमा परी पुरिएकालाई जीवितै उद्धारगर्ने समय समाप्त भएको बताइएको छ।
तीन दिन अघि गएको भूकमपमा परी मेक्सिकोमा २७२ जनाको मृत्यु भइसकेको बताइको छ। यो सङ्ख्या अझै बृद्धि हुने अनुमान गरिएको छ।
भूकम्पका कारण मेक्सिको सहरमा मात्र अझै २०० भन्दा बढी व्यक्ति हराईरहेका बताइएको छ।
राजधानी र अरु कैयौँ सहरमा भूकम्पका कारण भत्किएका भवनको भग्नावशेषहरु हटाउन उद्वारकर्ताहरु लागिपरेका छन्। भूकम्प ७.१ म्याग्निच्युडको थियो।
राजधानीको मध्य भागको छिमेकमा पर्ने रोमा इलाकामा भत्किएको एक साततले भवनमा २३ जनाको पुरिएको अनुमान गरिएको छ।
पहाडी इलाकामा भत्किएका भवन भग्नावशेषबाट २८ व्यक्तिलाई बाहिर निकालिएको बताइएको छ।
यसअघि दुई हप्तामात्र अघि पनि मेक्सिकोमा योभन्दा झनै शक्तिशाली भूकम्प गएको थियो। मेक्सिकोमै सेप्टेम्बर ७ मा ८.१ म्याग्निच्युडको भूकम्पमा परी ९० जनाको ज्यान गएको थियो। रासस/एएफपी