PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

धर्मका विषयमा 'जनमत संग्रह' कमल थापाको चुनावी कार्ड



पहिलोपोस्ट

धर्मका विषयमा 'जनमत संग्रह' कमल थापाको चुनावी कार्ड
फाइल फोटो : पहिलोपोस्ट

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश र प्रतिनिधिसभा निर्वाचनसँगै धर्म निरपेक्षताको विषयको जनमत संग्रह पनि गराउने माग गरेको छ। प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि रणनीति निर्माण गर्न बसेको केन्द्रीय समिति बैठकले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनसँगै धर्म निरपेक्षताको विषय पनि जनमत संग्रहमा लैजान माग गरेको हो। 

स्थानीय तहको निर्वाचनमा नराम्ररी पराजित भएको कमल थापा नेतृत्वको पार्टीले विभाजनको घाउ पूर्नका लागि जनमत संग्रहलाई चुनावी कार्डका रुपमा प्रयोग गर्ने प्रयास थालेको छ।

‘धर्म निरपेक्षताको आडमा हाल पनि योजनावद्ध र संगठित रुपले लोभ लालच, त्रास र भ्रम सिर्जना गरेर लाखौं नेपालीको धर्म परिवर्तन गराउने कार्य जारी रहेको छ। यस कार्यबाट एकातिर नेपालको धार्मिक सांस्कृतिक पहिचान संकटमा पर्ने खतरा देखिएको छ भने अर्कोतर्फ सदियौं देखि नेपाली समाजमा कायम रहेको सदभाव र एकता खलबलिइ देशमा धार्मिक द्वन्द्व बढने संभावना देखिन्छ,’ राप्रपाले केन्द्रीय समिति बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘यस वास्तकितालाई दृष्टिगत गर्दै नेपाललाई हिन्दुराष्ट्र स्थापना गर्ने वारे जनताको प्रत्यक्ष अभिमत लिन यही मंसिर १० र २१ गते हुुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसंँगै राष्ट्रिय जनमत संग्रह गरियोस् भन्ने राप्रपा माग गर्दछ।‘

आफ्नो एजेण्डामा सरकार र सम्बद्ध पक्षको ध्यानाकर्षण गर्न आगामी २३ गते सबै जिल्ला सदरमुकाममा जुलुस र सभा गर्ने तथा जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र दिने कार्यक्रम सार्वजनिक गरेको छ। 

राप्रपाले शासकीय स्वरुपमा पनि आफ्नो अवधारणा दोहोर्याउँदै राजालाई आलंकारिक राष्ट्र प्रमुख बनाउने प्रस्ताव राखेको छ। उसले सबै तहका लागि निर्वाचन प्रणाली पूर्ण समानुपातिक हुनुपर्ने बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell