काठमाडौँः हुलाक सेवा विभागअन्तर्गत नेपाल फिलाटेलिक ब्युरोले विभिन्न प्रकारका नयाँ हुलाक टिकट प्रचलनमा ल्याएको छ।
सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले ओखलढुंगाको पोकली झरना, नेपाली खाना परिकार (योमरी, सेलरोटी अनर्सा र लाखामरी), परम्परागत गरगहना (तिलहरी, बाला, कल्ली र बुलाकी), राष्ट्रिय झण्डा र निर्वाचन आयोगको प्रतीक चिह्नअंकित नयाँ हुलाक टिकटमा प्रकाशनको प्रथम दिवसीय टाँचा लगाए ।
त्यसैगरी जनकविकेशरी धर्मराज थापा र राजनीतिकर्मी सरोज कोइरालाको तस्वीर तथा प्राचीन स्तनधारी जनावरअंकित टिकटको पनि आजै प्रथम टाँचा लगाइएको छ। ती टिकटको मूल्य एकदेखि पाँच सय रुपैयाँसम्म तोकिएको छ।
सो अवसरमा मन्त्री बस्नेतले यस किसिमको टिकट प्रकाशनले नेपालको परम्परागत संस्कृति, लोपोन्मुख प्रजाति तथा भौगोलिक विविधतालाई जोगाउने बताए।
आइतबारदेखि बिक्री गरिने उक्त टिकटको डिजाइन हुलाक सेवामा कार्यरत कला अधिकृत पूर्णकला लिम्बूले गरेकी हुन्।रासस