
नयाँदिल्लीः भारतको सर्वोच्च अदालतले गाई संरक्षणका नाममा भईरहेका गतिविधिबाट पीडितहरुलाई तत्काल क्षतिपूर्ति दिन आदेश दिएको छ।
भारतमा राष्ट्रवादी भारतीय जनता पार्टी विजेपीका नेता नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि गाई संरक्षणका नाममा भएको विभिन्न खाले गतिविधिका कारण १२ भन्दा बढी मानिसको मृत्यु भएको अधिकारीले बताए।
भाजपाले सन् २०१४ मा सत्तामा आएपछि गाईको मासु खाएको भन्दै मुसलमान र दलित समुदायका व्यक्तिहरूमाथि विभिन्न आक्रमण भएको थियो।
सरकारी अधिकारीहरूका अनुसार गाई संरक्षणका नाममा भएका अभियानका क्रममा पछिल्लो तीन वर्षमा झण्डै १२ जनाको मृत्यु भएको छ।
उनीहरुले दूधका लागि गाई ल्याएकाहरुलाई पनि आक्रमण गरेर अतिवादी व्यवहार देखाएको पाइएको छ।
भारतमा गाई संरक्षणका नाममा भईरहेका गतिविधिका बारेमा भएको सुनुवाईमा प्रधानन्यायाधीश दीपक मिश्रले भने,‘यस्ता घटना गराउनेहरु अपराधी हुन भने निर्दोषलाई सरकारले क्षतिपूर्ति दिनुपर्दछ।’
सर्वोच्च अदालतले यसअघि स्वघोषित गाई संरक्षणकर्ताहरूलाई नियन्त्रण गर्न आदेश दिएको थियो। केन्द्रीय सरकार र प्रादेशिक सरकारलाई अदालतले दिएको आदेशमा तत्काल केही कदम चाल्न पनि भनिएको थियो।
भारतमा गाईलाई हिन्दू धर्मअनुसार पुजनीय रूपमा लिइन्छ । त्यसका लागि कडा कानुन पनि बनाइएका छन्।
स्वघोषित गाई संरक्षणकर्ताद्वारा मुस्लिम र दलित समूदायका व्यक्तिहरूमाथि भएको आक्रमणको भारतीय प्रधानमन्त्री मोदीले पनि निन्दा गरेका छन्।रासस/सिन्ह्वा