काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष र समानुपातिकतर्फ निर्वाचनमा भाग लिने दलहरुको मतपत्रमा छापिने चुनाव चिह्नको रोलक्रम टुंगो लगाएको छ। आयोगले निर्धारण गरेको क्रमअनुसार मंसिर १० र २१ गतेको निर्वाचनमा दलहरुको चुनाव चिह्न छापिनेछ।
आयोगले प्रत्यक्षतर्फ निर्वाचनमा भाग लिन दल दर्ता भई हाल संसद्मा प्रतिनिधित्व गरेका दलहरुलाई संसद्को रोलक्रम अनुसार चिह्न निर्धारण गरेको हाे। जसमा नेपाली कांग्रेस पहिलो स्थानमा छ। दोस्रोमा एमाले, तेस्रोमा माओवादी केन्द्र, चौथोँमा राप्रपा र पाँचौँ स्थान राजपाले पाएको छ।
संसद्मा प्रतिनिधित्व नगरेका दललाई निर्वाचन आयोगले आयोगमा दर्ता गरेको क्रम अनुसार चिह्न वितरण गरेको छ।
यस्तै समानुपातिकमा पनि संसद्मा प्रतिनिधित्व गरेका दलको हकमा २०७० को संविधानसभा निर्वाचनमा प्राप्त समानुपातिक मतलाई आधार मानिएको छ। उक्त आधार अनुसार कांग्रेस पहिलो क्रममा छ। भने, १८औँ स्थानमा संघीय लोकतानित्रक राष्ट्रिय मञ्च (थरुहट) रहेको छ।