वीरगञ्ज : पर्साको विन्दवासिनी गाउँपालिकाका नवनिर्वाचित अध्यक्षले छोरी जन्माउने परिवारलाई छोरीको नाममा पाँच हजार रुपैयाँ भत्ता दिने घोषणा गरेका छन्।
अध्यक्ष श्रीलाल साह कानुले सपथग्रहण कार्यक्रममा छोरीकाे भु्रण हत्या गर्ने घटना बढेकाले निररुत्साहित गर्न यो अभियान सुरु गरेको बताए।
कानुले भने,‘छोरी जन्मने बितिक्कै बैंकमा मुद्धति खाता खोली रकम जम्मा गर्दिन्छौं।’ जम्मा भएको रकमले छोरीको पालन पोषण र उच्च शिक्षा सहयोग पुग्ने पनि उनले बताए।
त्यस्तै, अध्यक्ष कानुले ज्येष्ठ नागरिकलाई दिँदै आएको सामाजिक सुरक्षा भत्तामा गाउँपालिकाको अन्तरिक स्रोतबाट पाँच सय रुपैयाँ थप गरी वितरण गर्ने, गरिब जेहेन्दार विद्यार्थीलाई मासिक हजार रुपैयाँ छातवृत्ति दिने घोषणासमेत गरे। संघीय समाजवादी फोरम नेपालबाट ८ मत अन्तरले उनी अध्यक्षमा विजयी भएका हुन्।
उनले २ हजार ६ सय ११ मत पाए भने उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका चन्द्रकिशोर चौरसियाले २ हजार ६०३ मत प्राप्त गरेका थिए।