नुवाकोट : नुवाकोटका एक हजार ८०० भन्दा बढी बालबालिका कुपोषण ग्रस्त पाइएको छ।
विभिन्न संस्थासँगको सहकार्यमा स्वास्थ्य कार्यालयले तयार गरेको स्थलगत अध्ययनका आधारमा पर्याप्त आहाराको कमी र विभिन्न रोगको संक्रमणका कारण कुपोषण भएका बालबालिकाको संख्या एक हजार ८६१ रहेको पोषण विकास अधिकृत जनार्दन सिलवालले जानकारी दिए।
‘भूकम्पपछिको २९ महिनामा ३०५ जना शीघ्र कुपोषित भएका बालबालिका पाएकाले उनीहरुलाई स्वास्थ्य चौकीमा राखेर बहिरंग सेवा केन्द्रमा उपचार गर्दै आएका छौँ।’
कुपोषणग्रस्त बालबालिकाको धेरै भेटिएपछि स्वास्थ्य कार्यालयले प्रत्येक स्थानीय तहमा एक-एक केन्द्र स्थापना गरी बिरामीलाई निःशुल्क उपचार पुर्याउन सुरु गरेको छ।
जिल्लाको सबै बस्तीबाट संकलन गरेको तथ्यांकका आधारमा जन्मेदेखि ५९ महिनासम्मका बालबालिकाको सख्या करिब २६ हजार रहेकामा एक हजार ८०० भन्दा भढी बालबालिकामा कुपोषण देखिएको हो।
योसँगै एक हजार १०२ जना गर्भवती तथा सुत्केरी महिला कुपोषणको जोखिममा परेको पाइएपछि नियन्त्रणका लागि खोज, उद्धार र उपचारमा अभियान नै शुरु गरेको स्वास्थ्य कार्यालयले जनाएको छ।
सामाजिक संस्था एसिएफ इन्टरनेशनलसँगको सहकार्यमा स्वास्थ्यकर्मीसहित महिला स्वास्थ्य स्वयंसेविकालाई समेत तालिम दिएर रोग नियन्त्रण गर्न ‘पाखुराको नाप’ मार्फत बिरामीको खोजी र पत्ता लगाएकालाई रोग निधान गर्न प्रयास हुँदै आएको खोप अधिकृत अमृत महर्जनले जानकारी दिए।
बालबालिकाले पर्याप्त खान नपाएर मात्र नभई उनीहरुले खाने खानाको सन्तुलन नमिलेर, छ महिनासम्मका बालबालिकाले पर्याप्त मात्रामा आमाको दूध खान नपाएर र अन्य रोगले संक्रमण गरेमा पनि कुपोषण रोग लाग्ने भएकाले त्यसतर्फ अभिभावक सचेत भएमा रोग लाग्नबाट बचाउन सकिने कार्यालयले जनाएको छ।रासस