
काठमाडौं : नेपाल आइडलको पहिलो संस्करणका लागि उत्कृष्ट तीन मात्र होइन टप १२ मा पर्न सफल प्रतियोगीहरुलाई कतार लगिएको थियो। सबैले फिनालेमा प्रस्तुती दिए। उत्कृष्ट ४ मा पर्न सफल रहेर बाहिरिएका सागर आलेले भने प्रस्तुतीसँगै आफ्ना दर्शक स्रोतालाई समेत धन्यवाद दिए। प्रस्तुतीको क्रममा उनले भनेका थिए,'मलाई देश विदेशमा रहेर माया गर्नु हुने नेपाली दाजुभाइ, दिदीबहिनीले मेरो खातामा ४० लाख रुपैयाँ सहयोग जम्मा गरिदिनु भएको छ। म त्यो पैसा सांगीतिक प्रयोजनकै लागि खर्च गर्छु।'
फिनालेमा प्रस्तुती दिन कतार पुगेका सागरलाई कतारमै नगद सहयोगको चेक हस्तान्तरण गरेका छन्। विदेशमा रहेका सम्पूर्ण शुभ चिन्तकको तर्फबाट भनेर दिइएको चेक मगर संघ शाखा कतारले उनलाई प्रदान गरेकाे हाे। नेपाल इन्भेस्टमेन्ट बैंकको चेकमा नगद ६० लाख बराबरको आर्थिक सहयोग गरिएको हो।
सागरले फिनालेको स्टेजबाट आफ्ना शुभ चिन्तक र सहयोगीहरुलाई निराश नबनाउने बताए। सांगीतिक क्षेत्रमा निरन्तर सक्रिय रुपमा लाग्ने समेत बताए। सागरलाई आर्थिक सहयोग जुटाउने अभियान सामाजिक कार्यमा सक्रिय जुनु पुनले सागर सहयोग आह्वान सहित सुरु गरेकी थिइन्। दुई पटक परफर्मर अफ दि डे भएका सागरले चितवनबाट नेपाल आइडलका लागि अडिसन दिएका थिए। २० वर्षका सागरले घरको आर्थिक अवस्था कमजोर भएका कारण संगीतको औपचारिक अध्ययन गर्न पाएका थिएनन्। आइडलमा नै उनले संगीत सिकेका हुन्।
१२ कक्षाको परीक्षा दिएर बसेका सागर बाहिरिएको घोषणापछि हाँसी हाँसी भने, 'म यहाँ सुरुमा आउँदा बच्चै जस्तो थिएँ। अहिले सबैले चिनेका छन्। सबैले माया गर्नुभएको छ। फर्स्ट नै हुनुपर्छ भन्ने लागेको छैन।'